काठमाडौं,२८ असोज । हमासको कब्जाबाट मारिएका नेपाली युवा विपिन जोशीको शव अहिले इजरायलको सैनिक अस्पतालमा राखिएको छ। अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले शव इजरायली सेनालाई जिम्मा लगाएको थियो।
इजरायलस्थित नेपाली दूतावासका अनुसार, शवको डीएनए परीक्षण रिपोर्ट तयार भएपछि मात्र नेपाल पठाउने प्रक्रिया सुरु हुनेछ। राजदूत धनप्रसाद पण्डितले अनलाइनखबरसँग भने, “डीएनए परीक्षण गर्न करिब ४ घण्टा लाग्ने बताइएको छ। परीक्षणपछि मात्र शव कफिनमा राखेर नेपाल पठाइने छ।”
कञ्चनपुरका विपिन जोशी अध्ययनका लागि इजरायल पुगेका थिए। गत अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणमा उनी बन्धक बनाइएका थिए। सो आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भइसकेको थियो।

इजरायल र हमासबीचको युद्धविरामपछि मंगलबार बिहान इजरायली सेनाले विपिनको मृत्यु पुष्टि गरेको थियो। बन्दीहरु मुक्त गर्ने क्रममा हमासले उनको शव हस्तान्तरण गरेको जनाएको छ। शव नेपाल पठाउन अझै केही दिन लाग्ने अनुमान गरिएको छ।




