बीरगन्ज,२८ असोज । पर्सा जिल्लाको पर्सागढी नगरपालिका–५ का वडा अध्यक्ष नितेश मिश्र (चुन्नु) सहित पाँचजनामाथि ज्यान मार्ने प्रयासको मुद्दा दर्ता भएको छ। जिल्ला अदालत बीरगन्जले उनीहरूलाई पक्राउ गर्न आदेश जारी गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
मञ्जीव मिश्रले दिएको जाहेरीका आधारमा नेपाल सरकार वादी र बृजकिशोर मिश्रसहितका अन्य व्यक्तिहरू प्रतिवादी बनाइएका छन्। जाहेरीमा मुद्दाको अनुसन्धानका क्रममा प्रमाण नष्ट हुन सक्ने र अभियुक्तहरू फरार हुन सक्ने आशंका देखिएकाले अदालतले तत्काल पक्राउ पुर्जी जारी गर्न आदेश दिएको उल्लेख छ।
अदालतको आदेशपछि प्रहरी टोली वडा अध्यक्ष मिश्रसहित फरार रहेका अन्य आरोपितहरूको खोजीमा खटिएको छ। पक्राउ पुर्जी जारी गरिएका अन्य चारजना हुन् पर्सागढी–५ का रविरञ्जन मिश्र (पिन्टु), राकेश मिश्र, रुपेश मिश्र र चन्द्रमा मिश्र।

अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ को उपदफा ३० बमोजिम उनीहरूलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन अनुमति दिएको छ।
अनुसन्धान अधिकृत प्रहरी निरीक्षक शैलेन्द्रकुमार खड्काका अनुसार, अदालतको आदेशअनुसार अनुसन्धान तीव्र गतिमा अघि बढाइएको छ। उनले भने, “सबै अभियुक्तहरू हाल फरार छन्, तर खोजी कार्यलाई तीव्र बनाइएको छ।”
प्रहरीले घटनासम्बन्धी थप विवरण सार्वजनिक गरेको छैन तर प्रारम्भिक जानकारीअनुसार विवादका क्रममा घाइते हुने घटना भएको र त्यसैको आधारमा मुद्दा दर्ता भएको बताइएको छ।




