वीरगन्ज,२८ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको तिहार पर्वका मुख्य साइतहरू सार्वजनिक गरेको छ।
समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ः ३९ बजे निर्धारण गरिएको छ। यद्यपि, सर्वसाधारणका लागि भने कात्तिक ६ गते मध्याह्नकालमा टीका लगाउन कुनै बाधा नपर्ने समितिका सदस्य प्रा. देवमणि भट्टराईले जानकारी दिनुभयो।
यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारबाट सुरु हुँदैछ, जुन दिन धन त्रयोदशी र धनतेरस पर्व परेको छ। कात्तिक २ गते आइतबार काग तिहार र धनवन्तरी जयन्ती मनाइनेछ। कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गरिनेछ किनभने सायंकालमा औँसी तिथि परेको छ। औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ४ गते मङ्गलबार बिहान गर्नुपर्ने समितिले जनाएको छ।
गाई, गोरु र नेवार समुदायमा विशेष महत्त्व राख्ने आत्म (म्हः) पूजा भने कात्तिक ५ गते बुधबार गर्नुपर्ने शास्त्रीय वचन छ। यसै दिनदेखि नेपाल संवत् ११४६ पनि सुरु हुन्छ। भाइटीकाको साइत कात्तिक ६ गते बिहीबारलाई तोकिएको छ। समितिले भ्रातृपूजाको अर्थ दाजुभाइ दुवैलाई बुझाउने भएकाले ज्येष्ठताको क्रमानुसार टीका लगाउनु शास्त्रसम्मत हुने जनाएको छ। तिहारको यस अवधिमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने धार्मिक विश्वास छ।



