जनकपुर, २८ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनमत पार्टीको आन्तरिक लोकतन्त्र कमजोर भएको आरोप लगाउँदै पार्टीभित्रको वर्तमान प्रवृत्ति यथावत् रह्यो भने संगठन पतनतर्फ जाने चेतावनी दिएका छन्।
पदबाट राजीनामा दिनुअघि प्रदेश सभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले पार्टी नेतृत्वप्रति असन्तोष प्रकट गर्दै आफूलाई योजनाबद्ध रूपमा बदनाम गर्न खोजिएको दाबी गरे।
उनले भने, “मलाई एक वचन पनि नसोधीकन सरकारबाट समर्थन फिर्ता लिइयो र सरुवा फिर्ता बोलाएको पत्र सामाजिक सञ्जालमा छ्यापछ्याप्ति बनाइयो। त्यो मेरो चरित्र हत्या गर्ने प्रयास थियो।”
सिंहले पार्टीको केन्द्रीय नेतृत्व र संसदीय दलको नेताले एकल निर्णय गर्दै लोकतान्त्रिक मूल्यविपरीत काम गरेको आरोप लगाए। उनले थपे, “मुख्यमन्त्री भएपछि पार्टीकै निर्देशनमा मन्त्रीहरू नियुक्त गरेँ, फेरि पार्टीकै आदेशमा हटाएँ। तर त्यसकै जिम्मा ममाथि थोपेर स्पष्टीकरण मागियो, जुन चरित्र हत्या बराबर हो।”
बजेट विनियोजन प्रक्रियामा पनि पार्टी नेतृत्वको दोहोरो चरित्र रहेको उनले उल्लेख गरे। सिंहले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले साना, टुक्रे योजनालाई प्रोत्साहन दिएको आरोप लगाउँदै भने, “पर्यटन मन्त्रालयमा ५/५ लाखका टुक्रा बजेट राखिँदैछ भनेर अध्यक्षलाई जानकारी गराउँदा उल्टै मलाई दोष लगाइयो, जबकि प्रोत्साहन गर्नेहरूकै निर्देशनमा ती योजना अघि बढाइएका थिए।”
मुख्यमन्त्री सिंहले पार्टी नेतृत्वमा सुधार नभए जनमत पार्टीको अस्तित्व नै संकटमा पर्ने चेतावनी दिँदै राजीनामासँगै आफ्नो आत्मसम्मानको रक्षा गरेको बताए।



