जनकपुर,२८ असाेज । मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अन्योलमा परेको छ। मुख्यमन्त्री सतिशकुमार सिंहलाई आफ्नै दलसहित सत्ता गठबन्धनमा रहेका सबै दलले समर्थन फिर्ता लिएपछि प्रदेश राजनीतिक अस्थिरतामा फसेको छ।
मुख्यमन्त्री सिंहले मंगलबार प्रदेश सभाबाट विश्वासको मत लिने कार्यसूची तय गरे पनि समर्थन फिर्तापछि उनको पक्षमा मत जुट्ने सम्भावना अत्यन्तै न्यून बनेको छ। यस्तो अवस्थामा उनले सभामा सम्बोधन गरेर राजीनामा घोषणा गर्ने अनुमान गरिएको छ।
यससँगै प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूबीच तीव्र छलफल सुरु भएको छ। सुरुमा नेपाली कांग्रेस, एमाले र जनमत पार्टीबीच कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने तयारी भए पनि उक्त गठबन्धन दुई दिनमै अस्थिर बनेको छ।

अब लोसपा नेपालको नेतृत्वमा नयाँ समीकरण बन्ने सम्भावना देखिएको छ। लोसपाका केन्द्रीय महासचिव परमेश्वर साहका अनुसार लोसपाले जसपा नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमत पार्टीसँग मिलेर नयाँ गठबन्धन बनाउने तयारी गरेको छ। उनले भने, “लोसपाका नेता जितेन्द्र सोनलको नेतृत्वमा गठबन्धन बनाउन जसपा अध्यक्ष उपेन्द्र यादवले पनि सहमति जनाइसक्नुभएको छ।”
लोसपा अध्यक्ष महन्थ ठाकुर र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज जनकपुरधाममै भेटवार्ता तय भएको छ। १०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ मत आवश्यक हुने भएकाले यी चार दलका ४४ सांसदसँगै अन्य साना दललाई समेटेर सरकार बनाउने प्रयास भइरहेको छ।
यसबीच, कांग्रेस–एमाले–जनमत गठबन्धन धरापमा परेको छ। जनमत पार्टीभित्र ‘जनस्वराज पार्टी’ दर्तासँगै विभाजन भएपछि कांग्रेस नेतृत्वको बहुमतको दाबी कमजोर भएको छ।
लोसपाको धारणा भने अझ स्पष्ट भइसकेको छैन। प्रवक्ता आभाष लाभका अनुसार, “सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय अध्यक्ष ठाकुरले अन्तिम रूपमा निर्णय गर्नुहुनेछ।” ठाकुरले मंगलबार महोत्तरीमा कार्यक्रम सकेर पत्रकार सम्मेलनमार्फत पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन्।
मुख्यमन्त्री सिंहले विश्वासको मत लिने तयारीसँगै मधेस प्रदेश पुनः अस्थिरताको मोडमा पुगेको छ। अब लोसपाको नेतृत्वमा नयाँ सरकार बन्ने वा कांग्रेसको प्रयास सफल हुने भन्ने विषय केही दिनभित्रै टुंगो लाग्ने देखिएको छ।




