काठमाडौं,२९ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेन–जी आन्दोलनपछि चौतर्फी दबाबबीच कार्यकारी भूमिकाबाट बिदा लिँदै आफ्नो ६२ वर्ष लामो राजनीतिक यात्रामा विश्राम लिएका छन्। मंगलबार सानेपास्थित पार्टी कार्यालयमा आयोजित केन्द्रीय कार्यसमिति बैठकमा उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति सुम्पेर अब पुरानै भूमिकामा नफर्कने सन्देश दिएका हुन्।
२४ भदौको जेन–जी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका देउवाले १३ पृष्ठको लिखित मन्तव्यमार्फत आफ्नो राजनीतिक जीवन, उपलब्धि र आलोचना सबैको समीक्षा गर्दै पार्टी नेतृत्व हस्तान्तरणको घोषणा गरे। उनले भने, “पार्टीलाई संविधानअनुसार तोकिएको समयमा महाधिवेशनमा लैजान जिम्मेवारी उपसभापतिलाई सुम्पेको छु।”
विद्यार्थी राजनीतिबाट सत्ता शिखरसम्म
२००३ सालमा रुवाखोला, अस्रिगाम (डडेल्धुरा)मा जन्मेका देउवा १७ वर्षको उमेरमा कांग्रेसको राजनीतिमा प्रवेश गरेका थिए। २५ वर्षको उमेरमा उनी नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष बने। त्यसपछि उनको राजनीतिक यात्रा कहिल्यै पछाडि फर्किएन। पाँच पटक प्रधानमन्त्री बनेका देउवाको नाम नेपालको लोकतान्त्रिक राजनीतिका सबैभन्दा लामो समय सत्तासँग जोडिएका नेतामध्ये एकका रूपमा रह्यो। २०५२, २०५८, २०६१, २०७४ र २०७८ सालमा उनले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
भाग्यमानी नेता कि प्रणालीका उत्पादन ?
राजनीतिक विश्लेषक कृष्ण खनालका अनुसार देउवा “भाग्यमानी” भन्दा बढी पार्टीभित्रको लाचारी र कमजोर प्रतिस्पर्धाका कारण पटक–पटक अवसर पाएका नेता हुन्। खनाल भन्छन्, “सत्ताबाट निकालिएपछि पनि फेरि राजाबाट पुनः प्रधानमन्त्री बन्ने स्थिति नै देउवाको राजनीतिक चरित्र हो।”
उपलब्धि र विवाद दुबैको धनी
देउवाले आफ्नो कार्यकालमा कमैयाँ मुक्ति, छुवाछूत अन्त्य, भूमिसुधार, महिलाको सम्पत्ति अधिकार, भ्रष्टाचार निवारण ऐन, मूल्य अभिवृद्धि कर (VAT) लगायतका नीतिगत सुधारलाई आफ्नो उपलब्धि बताउँछन्।
तर उनको शासनकाल सधैं सत्ताको दुरुपयोग, भ्रष्टाचार र राजनीतिक अस्थिरताका आरोपले घेऱिएको रह्यो। सांसद खरिद–बिक्री, सुशासन अभाव, सुरा–सुन्दरी प्रकरणदेखि राजासँगको सहकार्यसम्मका विवादले उनको छवि विवादास्पद रह्यो।
जेन–जी आन्दोलनपछि दबाब र बहिर्गमन
जेन–जी आन्दोलनले कांग्रेस–एमाले सत्ता गठबन्धन ढाल्दै नयाँ पुस्ताको नेतृत्व उदाउने वातावरण बनायो। त्यसपछि देउवामाथि पार्टीभित्रैबाट नेतृत्व परिवर्तनको दबाब तीव्र भयो।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले समेत देउवालाई “नैतिक जिम्मेवारी” लिन आह्वान गरे। पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै ५४ प्रतिशत प्रतिनिधिहरूले हस्ताक्षर बुझाएपछि देउवामाथि नैतिक र राजनीतिक दुवै दबाब बढ्यो। अन्ततः उनले कार्यकारी जिम्मेवारी हस्तान्तरण गर्दै ‘राजनीतिक बिदा’ लिएका हुन्।
उत्तराधिकारीबारे अनिश्चितता
देउवाले कार्यवाहक सभापतिका रूपमा पूर्णबहादुर खड्कालाई अघि सारे पनि पार्टीभित्र उनी वास्तविक उत्तराधिकारी हुन् कि देउवाकै छायामा रहने भन्नेमा शंका छ।
कांग्रेसभित्रको संस्थापन इतर समूहले मंसिरभित्रै नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने माग दोहोर्याइरहेको छ।
अन्त्यमा पनि सत्ता समीकरणकै चर्चा
जेन–जी आन्दोलन नभएको भए देउवा अझै पनि ०८३ असारमा प्रधानमन्त्री बन्ने योजनामा थिए। तर आन्दोलनले पुरानो सत्ता समीकरण र “म्युजिकल चेयर” प्रणालीको अन्त्य गरिदियो। राजनीतिक विश्लेषक खनालका शब्दमा, “जेन–जी आन्दोलनले ओली, दाहाल र देउवा तीनै नेताको युग समाप्त गरेको छ।”
८१ वर्षका देउवा अब सक्रिय राजनीतिबाट टाढा छन्। तर, कांग्रेसभित्रको संरचना र निर्णय प्रक्रिया अझै पनि ‘देउवा छायामा’ रहने आशंका नेताहरूमा कायम छ। उनको बिदासँगै नेपाली कांग्रेस नयाँ पुस्ताको नेतृत्वतर्फ मोडिने कि पुरानै संस्कृतिमा अड्किने भन्ने प्रश्न अब समयले मात्र उत्तर दिनेछ।





