काठमाडौं,२९ असोज । उच्च शिक्षा अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीमार्फत एक महिनामै ३२ अर्ब ७६ करोड रुपैयाँ देशबाट बाहिरिएको पाइएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो महिनाको प्रतिवेदनअनुसार, भदौ महिनामा मात्र यति ठूलो परिमाणमा रकम विदेश पठाइएको हो। अघिल्लो वर्षको सोही अवधिमा यो रकम २८ अर्ब २० करोड थियो।
विदेश अध्ययनका साथै अन्य सेवामूलक खर्च पनि बढेको राष्ट्र बैंकले जनाएको छ। सेवा खाताअन्तर्गत भ्रमण व्यय ९.६ प्रतिशतले बढेर ४७ अर्ब ३१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो खर्च ४३ अर्ब १८ करोड थियो।
त्यस्तै, खुद सेवा आय घाटा पनि थपिएको छ। चालु वर्षको पहिलो दुई महिनामा सेवा आय ३१ अर्ब १६ करोड घाटामा छ, जुन अघिल्लो वर्षको सोही अवधिको २७ अर्ब ९३ करोड घाटाभन्दा उच्च हो।
यद्यपि, भ्रमण आय भने ९.८ प्रतिशतले वृद्धि भएर ११ अर्ब ५८ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो आय १० अर्ब ५५ करोड मात्र थियो।
विदेशी अध्ययनका लागि यति ठूलो रकम बाहिरिनु नेपालको चालु भुक्तानी सन्तुलनमा थप दबाब सिर्जना गर्ने अर्थविशेषज्ञहरूको मूल्यांकन छ।




