जनकपुर,२९ असोज । मधेस प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश अध्यक्ष जितेन्द्र सोनल (सोनार) को दाबी आज पेश भएको छ।
पाँच दलीय गठबन्धनले प्रदेश प्रमुखको कार्यालयमा औपचारिक रूपमा सोनलको दाबी पेस गरेको हो। गठबन्धनमा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र लोसपा रहेका छन्।
गत मंगलबार राति र आज बुधबार बिहान बसेको बैठकमा सोनलको नेतृत्वमा मधेस प्रदेशमा सरकार गठन गर्ने सहमति भएको हो। लोसपा केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको विशेष उपस्थितिमा भएको बैठकमा जसपा नेपालका मनिष सुमन, जनमत पार्टीका महेशप्रसाद यादव, माओवादी केन्द्रका युवराज भट्टराई, लोसपा सदस्य जैलुनराइन, र एकीकृत समाजवादीका गोविन्द बहादुर न्यौपाने सहभागी थिए।

मधेस प्रदेशसभामा १०७ सांसद छन् र सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ। गठबन्धनका अनुसार जसपा नेपालका १९, जनमतका १३, माओवादी केन्द्र र लोसपाका ९–९, र एकीकृत समाजवादीका ७ सांसदको समर्थनले कुल ५६ सांसदको समर्थन प्राप्त भएको दाबी गरिएको छ।
यद्यपि, लोसपाका एक सांसद निलम्बित भएकाले वास्तविक समर्थन संख्या ५५ मा झरेको छ। गठबन्धनले अब औपचारिक रूपमा सरकार गठन प्रक्रिया अघि बढाउने तयारी गरेको बताइएको छ।




