spot_img

छठपर्व नजिकिँदै, बाँसका परम्परागत सामग्रीको बजार चहलपहल

spot_img
spot_img

जनकपुर,२९ असोज । तिहार र छठपर्व नजिकिँदै गर्दा मधेसका क्षेत्रमा बाँसका चोया र कप्टेराले बनेका परम्परागत सामग्रीको माग बढेको छ। पर्वमा पूजा सामग्री राख्न र विधिमै प्रयोग गर्न छिटी, डाली, कनसुपा, नाङ्लो, चाल्नो, पङ्खा जस्ता बाँसका सामान अपरिहार्य मानिन्छन्।

महोत्तरीका १५ स्थानीय तहका बस्तीपिच्छेका हटियामा यस्ता सामग्रीको छुट्टै बजार जमेका छन्। जलेश्वर, मटिहानी, बर्दिबास, गौशाला, रामगोपालपुर, पिपरा, सीतापुर, औरही, बलवा, लोहारपट्टी लगायतका बजारमा अहिले यी सामान बिक्री भइरहेको छ।

मिथिलामा बिन र डोम जातिले पुख्र्यौली पेशाका रूपमा बाँसका चोया र कप्टेरा काटेर यी परम्परागत सामग्री बनाउँदै आएका छन्। भङ्गाहा–४ रामनगरका ५० वर्षीय काशी मुखिया बिनका अनुसार, “दीपावली र छठमा बाँसकै भाँडा र सामग्री चाहिने चलनले अहिले काम भ्याइनभ्याइ छ। अरु बेला बिक्री कम हुन्छ।”

पूर्वी मधेसमा यस्ता परम्परागत सामानले पर्व विशेषको मात्र नभएर, केही महिनाको गुजारा चलाउने आम्दानी दिने गरेको बताइएको छ। बर्दिबास–१ की पारो मरिकले भनेकी छन्, “पर्वका बेला कमाएको पैसाले घरका साना नानीहरूको खाने, खेल्ने आवश्यकतासमेत पूरा हुन्छ।”

बाँसको सामग्री तयार गर्न, फटाउने, चोया र कप्टेरा बनाउनदेखि बजारमा पुर्‍याउने काम दिनरात नभनी भइरहेको छ। जलेश्वर–१ का रतन मरिकका अनुसार, “सामान तयार भएपछि मात्र नगद हात लाग्छ।”

पर्व सुरु हुने दिनसम्म सीपमुलक काममा जुटेका बिन र डोम समुदायका पाका व्यक्ति छठपर्वका लागि सामग्री आपूर्ति गर्दै लाग्ने प्रचलन कायम रहने जनाइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय