वासिङ्टन, अमेरिका, २९ असोज — अर्थमन्त्री रामेश्वरप्रसाद खनालले संयुक्त राज्य अमेरिकामा विभिन्न दातृ निकाय र अमेरिकी उच्च अधिकारीहरूसँग बहुआयामिक भेटवार्ता गर्नुभएको छ। उहाँ अमेरिका पुग्नुभएको थियो विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को वार्षिक बैठकमा सहभागी हुन।
अमेरिकी वाणिज्य प्रतिनिधिसँगको भेटमा खनालले नेपाल–अमेरिका व्यापार र लगानी प्रवद्र्धनका विषयमा विस्तृत छलफल गर्नुभएको छ। यस अवसरमा उहाँले नेपाल ट्रेड प्रिफेन्स प्रोग्राम (NTP) को म्याद थप गर्न अमेरिकी पक्षलाई आग्रह गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ। त्यस्तै, अमेरिकी स्टेट डिपार्टमेन्टका प्रतिनिधिसँग उहाँले दुई देशबीचको सम्बन्ध सुदृढ पार्ने र आपसी हितका विषयमा विचार–विमर्श गर्नुभएको छ।
उहाँले साउदी फण्ड र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ। साउदी फण्डका प्रतिनिधिहरूले नेपालमा सिंचाई र जलविद्युत क्षेत्रमा निरन्तर लगानी रहने जानकारी दिएका छन्। त्यसैगरी, जाइका प्रतिनिधिसँगको भेटमा विपी राजमार्ग पुनःस्थापना, नागढुंगा सुरुङ मार्ग, र कोटेश्वर–सेक्सन आयोजना छिटो अघि बढाउने विषयमा छलफल भएको छ।
अर्थमन्त्री खनालले अन्तर्राष्ट्रिय मुद्रा कोषका एशिया–प्रशान्त निर्देशक कृष्णा श्रीनिभासनसँग पनि भेट गर्नुभएको छ। बैठकमा विस्तारित कर्जा कार्यक्रमको निरन्तरता, नेपाल राष्ट्र बैंक ऐन संशोधन, वाणिज्य बैंकहरूको कर्जा पोर्टफोलियो अध्ययन, र वित्तीय स्थायित्व कायम राख्ने उपायबारे छलफल भएको छ। यस बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल पनि उपस्थित थिए।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेका अनुसार, मन्त्री खनालको भेटवार्ताले नेपालको पूर्वाधार, मानव विकास र वित्तीय व्यवस्थामा अन्तर्राष्ट्रिय सहयोग बढाउने सम्भावना थप सुनिश्चित गरेको छ।



