काठमाडौं,२९ असोज । जेनजी आन्दोलनका युवा कार्यकर्ताहरूले इजरायलमा हमासको अपहरणमा परेर ज्यान गुमाएका विपिन जोशीको सम्झनामा विशेष दीप प्रज्वलन कार्यक्रम आयोजना गर्न लागेका छन्। कार्यक्रम बुधबार अपरान्ह ५:३० बजे काठमाडौंको माइतीघर मण्डलामा सञ्चालन हुने जनाइएको छ।
जेनजीका अगुवा रक्षा बमले सामाजिक सञ्जालमा जानकारी दिँदै, विपिनको सम्झनामा दीप प्रज्वलनमार्फत उनीप्रति श्रद्धाञ्जली अर्पण गर्ने र उपस्थित सबैलाई सहभागी हुन आह्वान गरेकी छन्। बमले विपिनलाई अपहरणपछि फिर्ता ल्याउन तत्कालीन राज्यसत्ताले पर्याप्त कूटनीतिक पहल नगरेको आरोप समेत लगाएकी छन्।
बमले लेखेकी छन्, “भविष्य बनाउन हिँडेको एउटा उज्यालो कहिल्यै नफर्किनेगरी अस्ताएको छ। हार्दिक श्रद्धाञ्जली विपिन। तिमीलाई हामी सँधै सम्झिरहनेछौं। We are sorry, we could not bring you back home।”
दीप प्रज्वलन कार्यक्रमले विपिनको योगदान र जीवनप्रतिको सम्मान प्रकट गर्ने उद्देश्य राखेको छ। जेनजी युवाहरूले यस कार्यक्रम मार्फत अपहरण र हिंसाविरुद्धको जनचेतना पनि फैलाउने बताइएको छ।
यो कार्यक्रममा सहभागी भएर विपिनको सम्झना र उनका आदर्शहरूलाई जीवित राख्न सबैलाई आह्वान गरिएको छ।




