रौतहट,२९ असोज । रौतहट जिल्लाको बृन्दावन नगरपालिका–६, हर्षहा निवासी ७४ वर्षीय मटुक राउत कुर्मी सडक दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारको क्रममा निधन भएको छ। घटना मिति २०८२ असोज २६ गते बिहान करिब ६:३० बजे घटेको थियो।
प्रहरीका अनुसार, कुर्मी बाटोमा हिँडिरहेका बेला पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकल नम्बर ना १७ प ५२३१ चलाउँदै आएका रितेश यादव (१८) नामक युवकले तीव्र गतिमा लापरवाहीपूर्वक र बिना सवारी अनुमती पत्र मोटरसाइकल चलाउँदै दुर्घटना गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घटनापछि घाइते भएका राउतलाई तत्कालै नजिकको अमन हस्पिटल लगिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएकाले उनलाई बीरगंज न्युरो एन्ड जनरल हस्पिटल रिसर्च सेन्टर प्रा. लि. मा आईसीयूमा भर्ना गरिएको थियो। अस्पतालका अनुसार उनी अचेत अवस्थामा भर्ना भएका थिए र परीक्षणमा दुबै खुट्टामा चिरा चोट, दायाँ कुहिनोमा चोट, बायाँ हातमा घाउ, रगतको बान्ता (Active Hemoptysis) र मस्तिष्कमा गहिरो चोट (SDH with Brain stem bleed) पाइएको थियो।
उपचारकै क्रममा आज बिहान मृत्यु भएको पुष्टि भएको छ। मृतकको शव हाल पोस्टमार्टमको लागि नारायणी अस्पताल, बीरगन्ज पठाइएको छ। प्रहरीले मोटरसाइकल चालक रितेश यादवलाई घटनास्थलबाट नियन्त्रणमा लिएको छ र आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ। परिवारजनलाई पनि घटनाको विस्तृत विवरण जानकारी गराइएको छ।



