वीरगञ्ज — जनता समाजवादी पार्टी (जसपा) पर्सा जिल्ला समितिद्वारा वीरगञ्जस्थित टाउनहलमा आयोजित “अगुवा कार्यकर्ता भेला कार्यक्रम” उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता जसपा पर्साका जिल्ला अध्यक्ष सिंगासन साह तेलीले गर्नु भएको थियो। पार्टीका उपमहासचिव प्रदीप यादव प्रमुख अतिथि र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विशिष्ट अतिथि रहेका थिए।
भेलामा जसपाका जिल्ला, नगर, वडा तहका अगुवा कार्यकर्ता, युवा र महिला नेतृहरू, साथै विभिन्न क्षेत्रका समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। हल पार्टीका झण्डा, ब्यानर र नाराले सजाइएका कारण वातावरण उत्साहपूर्ण बनेको थियो।
मन्तव्यका क्रमअहिलेको राष्ट्रिय राजनीतिमा मधेशको मुद्दा ओझेलमा परेको उल्लेख गर्दै पूर्वमन्त्री यादवले मधेशको मुद्दा, समावेशिता र अधिकारका सवालमा कुनै किसिमको प्रहार भयो भने आफूहरू संघर्षमा उत्रिने चेतावनी दिए।
यादवले अहिले ‘जेन–जेड’ को नाममा जनतालाई आक्रोशित पार्ने कार्य भइरहेको भन्दै शान्ति–सुरक्षाको जिम्मेवारी सरकारले लिनु पर्ने बताएका छन्।
उनले जेन–जेडको आन्दोलनलाई सम्मान गर्नुपर्ने बताए। साथै, अहिलेको सरकारको मुख्य काम निर्वाचन गराउने भएकाले त्यसका लागि अनुकूल वातावरण बनाउने जिम्मा सरकारको रहेकोमा जोड दिए।
उनका अनुसार विभिन्न राजनीतिक दलहरूले आ–आफ्ना धारणा सार्वजनिक गरिरहे पनि निर्वाचनमा जानु पर्नेमा जनता समाजवादी पार्टी (जसपा) को स्पष्ट अडान रहेको छ।मा नेता यादवले विषम परिस्थितिमा नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गरे। उनले छिमेकीलाई गाली गरेर नक्कली राष्ट्रवादको नारा लगाउनेहरूप्रति रोष प्रकट गरे।
कार्यक्रममा स्वागत मन्तव्यपछि पार्टीको नीतिगत दिशा, संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति र स्थानीय समस्या समाधानका उपायहरू विषयमा विस्तृत छलफल गरिएको थियो। नेताहरूले जसपाको समावेशी समाजवादी विचारधारा र जनमुखी शासनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याए।
मुख्य अतिथि प्रदीप यादवले संगठनभित्र एकता, अनुशासन र जनसंपर्क विस्तारमा सक्रिय हुन कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो,
“नेपाललाई बचाउन सबै एकजुट हुनुपर्छ। देशलाई विभाजन र नकली राष्ट्रवादको नाममा प्रभावित पार्ने प्रयासहरू रोक्न हामीले सधैं सचेत रहनुपर्छ। नयाँ पुस्तालाई नेतृत्व दिने अवसर दिनु पर्छ, तर पुरानो पुस्तासँग अनुभव र दिशा मिलाएर मात्र सही नेतृत्व निर्माण गर्न सकिन्छ।”
विशिष्ट अतिथि मेयर राजेशमान सिंहले स्थानीय विकास र सुशासन सुनिश्चित गर्न पार्टीका कार्यकर्ताहरूले अग्रणी भूमिका खेल्नुपर्ने बताउनुभयो भने, जिल्ला अध्यक्ष सिंगासन साह तेलीले जनसेवामार्फत समाजवादका मूल्य व्यवहारमा उतार्न जोड दिनुभयो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष तेलीले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै भन्नुभयो,
“हामी सबै मिलेर जसपालाई जनताको पार्टी बनाउनेछौं। हाम्रो प्रतिबद्धता जनसेवा, समानता र राष्ट्रिय एकतामा केन्द्रित रहनेछ।”
जसपा नेताहरूले भेला कार्यक्रममा संगठनिक एकता, जनसंपर्क विस्तार र आगामी निर्वाचन तयारीका लागि ठोस कार्यदिशा तय गरिएको जानकारी दिएका छन्।
कार्यक्रमलाई जसपाका नेताहरू मुकेश दिवेदी, सलमा खातुन, जनार्धन यादव, पुरुषोत्तम झा, राजेशमान सिंह लगायतले सम्बोधन गरेका थिए।



