काठमाडौं,३० असोज । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमले बुधबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ कमी गरेको जनाएको छ।
निगमका अनुसार डिजेल र मट्टीतेलको मूल्य भने यथावत् राखिएको छ। मूल्य समायोजनपछि पेट्रोलको खुद्रा मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ।
नयाँ दरअनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा हुनेछ। सुर्खेत र दाङमा प्रतिलिटर १६० रुपैयाँ र काठमाडौँ, पोखरा तथा दीपायलमा १६१ रुपैयाँ पर्ने निगमले जनाएको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि उपभोक्तालाई राहतस्वरूप पेट्रोलमा मूल्य समायोजन गरिएको हो। डिजेल र मट्टीतेलको मूल्य हालको बजार मूल्यका आधारमा स्थिर राखिएको निगमले स्पष्ट पारेको छ।
पछिल्लो मूल्य समायोजनसँगै नेपालमा पेट्रोलको मूल्य पछिल्लो दुई महिनामध्ये दोस्रोपटक घटाइएको हो।




