spot_img

मधेश प्रदेशका सांसद सरोजकुमार सिंह पुनः अख्तियारको नियन्त्रणमा

spot_img
spot_img

जनकपुर,३० असाेज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद सरोजकुमार सिंहलाई पुनः नियन्त्रणमा लिएको छ। सांसद विकास कोषमार्फत प्राप्त रकम दुरुपयोग गरेको अभियोगमा उनलाई आज पक्राउ गरिएको आयोगले पुष्टि गरेको छ। आयोगले आजै विशेष अदालतमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको जनाएको छ।

जनता समाजवादी पार्टी (जसपा)का नेता सिंह महोत्तरी क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सांसद हुन्। उनी पूर्व आन्तरिक मामिलासम्बन्धी गृहराज्यमन्त्रीसमेत भइसकेका छन्।

सिंह यसअघि पनि अख्तियारको नियन्त्रणमा परेका थिए। गत जेठ २९ गते आयोगको टोलीले उनलाई काठमाडौंको अनामनगरबाट पक्राउ गरेको थियो। प्रारम्भिक बयान लिएपछि उनलाई तारेखमा रिहा गरिएको थियो। तर थप अनुसन्धानपछि पर्याप्त प्रमाण भेटिएपछि आयोगले आज पुनः पक्राउ गरेको हो।

अख्तियारका अनुसार सिंहले सांसद विकास कोषका नाममा नक्कली उपभोक्ता समिति गठन गरी परियोजना सञ्चालन गरेको र उक्त परियोजनाबाट करिब ३७ प्रतिशत रकम आफ्नै खातामा जम्मा गरेको प्रमाण फेला परेको छ।
अनुसन्धानकै क्रममा गत असोज १२ गते सांसद सिंहका निजी सचिव विनोद कुमार लाल कायस्थलाई समेत अख्तियारले नियन्त्रणमा लिएको थियो।

अख्तियारले अहिले सिंह, उनका निजी सचिव कायस्थ र नक्कली उपभोक्ता समितिका पदाधिकारीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको जनाएको छ।

सांसद विकास कोष प्रदेश र संघीय तहका जनप्रतिनिधिहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा साना पूर्वाधार परियोजनाका लागि प्रदान गरिने कोष हो। तर विगत केही वर्षयता यो कोषमा अनियमितता र राजनीतिक पहुँचका कारण भ्रष्टाचार बढेको भन्दै आलोचना हुँदै आएको छ।

यो घटनाले पुनः सांसद विकास कोषको पारदर्शिता र दुरुपयोगबारे प्रश्न उठाएको छ। अख्तियारका एक उच्च अधिकारीका अनुसार, “सांसद सिंहसँग संलग्न अन्य व्यक्तिहरूले समेत सरकारी रकमको ठूलो दुरुपयोग गरेका छन्। मुद्दा दायर भएपछि कानुनी प्रक्रिया अनुसार कारबाही अघि बढाइनेछ,” उनले भने।

 

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय