spot_img

भन्सार छली गरेर ल्याइएका सामान र मोटरसाइकल सशस्त्र प्रहरी नियन्त्रणमा

spot_img
spot_img

बीरगन्ज,३० असाेज । भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइएका विभिन्न सामान र मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर बीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वाटर पर्साको टोलीले बुधवार बीरगन्ज महानगरपालिका–१४, गण्डक चोकबाट भारतबाट ल्याइएको सामानसहितको मोटरसाइकल बरामद गरेको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुरज कार्कीका अनुसार बीआर २२ एन १०८० नम्बरको मोटरसाइकलमा भन्सार छली गरी ल्याइएका सामानहरूको मूल्य करिब रु २ लाख ९५ हजार १ सय ४५ बराबर रहेको छ।

“चेकिङका क्रममा चालक सवारीसाधन छाडेर फरार भएको थियो। बरामद गरिएका सामान र मोटरसाइकल आवश्यक कारबाहीका लागि बीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ,” कार्कीले जानकारी दिए।

त्यसैगरी, सोही गण अन्तर्गतको बोर्डर आउट पोस्ट (बीओपी) अमरपट्टीबाट खटिएको अर्को टोलीले पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–४, अमरपट्टीबाट भन्सार छली गरी ल्याइएको रु २० हजार बराबरको कम्प्युटर मोनिटर पनि नियन्त्रणमा लिएको छ।

उक्त सामानहरू पनि कानुनी प्रक्रिया पूरा गर्न वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बलले हाल सीमावर्ती क्षेत्रमा भन्सार छली, अवैध सामान ओसारपसार र लागूऔषध तस्करी रोक्न नियमित चेकिङ र निगरानीलाई अझ कडा बनाएको जनाएको छ।भारतसँगको खुला सीमाका कारण पर्सा, रौतहट, बारा लगायतका जिल्लामा भन्सार छलीका गतिविधि बढ्दै गएको र त्यसलाई नियन्त्रण गर्न सुरक्षातर्फ ध्यान केन्द्रित गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय