spot_img

आधिकारिकता पाएपछि मात्रै समर्थनबारे निर्णय : पूर्व मुख्यमन्त्री सिंह

spot_img
spot_img

जनकपुर,३० असाेज । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंहले नयाँ मुख्यमन्त्री जितेन्द्र सोनल नेतृत्वको सरकारलाई बधाई दिँदै प्रतिपक्षमा रहेर पनि रचनात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, “हामी खुट्टा तान्ने काम गर्दैनौं, तर आधिकारिकता पाएपछि मात्रै समर्थनबारे निर्णय लिनेछौं।”

जन स्वराज पार्टी (जस्वपा)का अध्यक्षसमेत रहेका सिंहले बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै नयाँ सरकारको गठन, प्रदेशको विकास एजेन्डा र भौतिक पूर्वाधार मन्त्रालयको भूमिकाबारे महत्वपूर्ण टिप्पणी गरे।

सिंहले नयाँ सरकार “आन्दोलन, युवाहरूको निराशा र नयाँ जोश–जाँगर” बीचको चुनौतीपूर्ण परिस्थितिमा गठन भएको उल्लेख गर्दै प्रदेशको स्थायित्वका लागि सबै दलले जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिए।
उनले भने, “हामी प्रतिपक्षमा बसे पनि प्रदेशको हितका विषयमा सरकारलाई आवश्यक सल्लाह र सुझाव दिन तयार छौं।”

पूर्व मुख्यमन्त्री सिंहले आफ्नो कार्यकालमा अघि बढाइएका विकास परियोजना र पूर्वाधार निर्माणका कामहरू अधुरा रहेको बताउँदै नयाँ सरकारले ती योजनालाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
उनका अनुसार, “हाम्रो सरकारको समयमा सुरु भएका सडक, सिंचाइ, र शिक्षा क्षेत्रका योजना मधेशको दीगो विकासका लागि महत्वपूर्ण छन्। ती कामलाई प्राथमिकताका साथ अघि बढाइयो भने जनताको अपेक्षा पूरा गर्न सकिन्छ।”

सिंहले जन स्वराज पार्टी (जस्वपा)ले हाललाई तटस्थ भूमिका लिने र प्रदेश सभामा दलको आधिकारिकता प्राप्त भएपछि मात्रै समर्थन वा विपक्षमा निर्णय गर्ने स्पष्ट पारे।उनले थपे, “प्रदेशमा अहिलेको राजनीतिक अवस्था संवेदनशील छ। हामीले भावनामा होइन, जिम्मेवारीपूर्वक निर्णय गर्नेछौं।”

मधेश प्रदेशमा हाल जितेन्द्र सोनलको नेतृत्वमा नयाँ सरकार गठन भएको छ। उनी जनता समाजवादी पार्टी (जसपा)का नेता हुन् र प्रदेशसभामा नयाँ सत्ता समीकरण बनेपछि सिंहको नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

 

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय