spot_img

चितवन राष्ट्रिय निकुञ्जमा २५ वर्षे भाले गैँडा मृत फेला

spot_img
spot_img

चितवन,३० असोज । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नवलपुरको अमलटारी सेक्टरको बाँदरझुला क्षेत्रमा २५ वर्षको एक भाले गैँडा मृत अवस्थामा फेला परेको छ। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार उक्त गैँडा दलदलमा फसेर मरेको प्रारम्भिक अनुमान गरिएको छ।

गैँडाको खाग र खुर सुरक्षित अवस्थामा फेला परेको थापा मगरले जानकारी दिए। चालु आर्थिक वर्षमा निकुञ्ज क्षेत्रमा मरेका गैँडाको संख्या चार पुगेको छ। अघिल्लो आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा २८ वटा गैँडा मृत फेला परेका थिए।

सूचना अधिकारी थापा मगरका अनुसार पछिल्ला करिब दुई वर्षदेखि गैँडाहरू चोरी–सिकारीको सिकार भएका छैनन्। अन्तिमपटक २०८० साल कात्तिक ३० गते निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रमा खाडलमा पारेर दुईवटा गैँडा मारेका थिए। त्यसयता भने सबै मृत्युलाई प्राकृतिक कारणकै मानिएको छ।

पछिल्लो राष्ट्रिय गैँडा गणनाअनुसार नेपालभर ७५२ वटा गैँडा रहेका छन्। तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९५ वटा गैँडा छन्। बाँकी गैँडा पर्सा वन्यजन्तु आरक्ष, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा आरक्षमा रहेका छन्।
निकुञ्ज प्रशासनले गैँडाको संरक्षण र मृत्यु दर घटाउनका लागि निगरानी र गस्ती अझ सशक्त बनाइने जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय