बीरगन्ज,३० असाेज । पर्साको बीरगन्जबाट प्रहरीले अवैध लागुऔषध गाँजा ओसारपसारमा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति भारत, बिहार राज्यको पटनाका ७० वर्षीय ब्रम्ह सहनी हुन्।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साको टोलीले बुधवार राति करिब साढे १० बजे वीरगञ्ज महानगरपालिका–१६, भन्सार कार्यालय पछाडिको मन्दिर क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरी टोलीले नियमित गस्ती तथा चेकजाँचका क्रममा रक्सौलतर्फ पैदल जाँदै गरेका सहनीलाई रोकजाँच गर्दा प्लास्टिक र टेपले बेरिएको अवस्थामा लुकाइ–छिपाइ ल्याइएको ६ किलो गाँजा फेला परेको हो।

सशस्त्र प्रहरीका प्रवक्ता डिएसपी सुरज कार्कीका अनुसार, बरामद गरिएको गाँजा सहित सहनीलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ। पक्राउ परेका सहनीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्तामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
डिएसपी कार्कीले भने, “सीमाक्षेत्र हुँदै लागुऔषध ओसारपसार गर्ने गतिविधि बढेका छन्। यसलाई नियन्त्रण गर्न सशस्त्र प्रहरीले नियमित गस्ती र सूचनामूलक अपरेसनलाई तीव्र पारेको छ।” पर्सा र आसपासका सीमावर्ती क्षेत्रहरू भारतसँगको खुला सीमाका कारण लागुऔषध तस्करीका लागि संवेदनशील नाका मानिन्छन्।




