spot_img

पर्सामा हैजाविरुद्धको खोप तीन दिनमै १ लाख ८८ हजार बढीले खाए खोप

spot_img
spot_img

बीरगन्ज,३० असाेज । पर्सा जिल्लामा हैजाविरुद्धको खोप अभियान शुरु भएको तीन दिनमै १ लाख ८८ हजारभन्दा बढी मानिसले खोप लिएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार, आइतबारदेखि मंगलबारसम्ममा गरी १ लाख ८८ हजार ५ सय १६ जनाले खोप लगाइसकेका हुन्।

खोप अभियानलाई विद्यालय र वडास्तरका स्वास्थ्य केन्द्रहरूमा तीव्र गतिमा सञ्चालन गरिएको छ।स्वास्थ्य कार्यालयका अधिकारीहरूका अनुसार, तिहार र छठ पर्व सुरु हुनु अघि नै अभियान पूरा गर्ने लक्ष्य राखिएको छ।सहरी क्षेत्रका केही बासिन्दा व्यस्तताका कारण खोप लिन नपाए पनि ग्रामीण क्षेत्रमा सहभागिता उच्च रहेको अधिकृत ठाकुरले बताए।

पर्सामा आइतबारदेखि सुरु गरिएको यो अभियान एक वर्षमाथिका सबै उमेर समूहका लागि खुला गरिएको हो।
जिल्लाका १४ वटै स्थानीय तहहरूमा यो कार्यक्रम सञ्चालन भइरहेको छ। साथै, छिमेकी बाराका १६ मध्ये ६ पालिकामा पनि (कलैया, जीतपुरसिमरा, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर) यो अभियान विस्तार गरिएको छ, जसले वीरगञ्ज महानगरपालिकासँग प्रत्यक्ष समन्वय गर्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजाको प्रकोप नियन्त्रण गर्न अन्तर्राष्ट्रिय समन्वय समूह (ICG) सँग खोपको माग गरेको थियो। अभियान परिवार कल्याण महाशाखाको नेतृत्वमा, विश्व स्वास्थ्य सङ्गठन (WHO) र युनिसेफको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको छ।

खोपका लागि प्रयोग गरिएको इयूभिकोल–एस (Euvichol–S) खोप एक मात्रा लगाएको दुई सातापछि ८२ प्रतिशत प्रभावकारी हुने बताइएको छ।

कात्तिक २ गतेसम्म सञ्चालन हुने अभियानमा पर्सा जिल्लाका ६ लाख ५२ हजार १ सय २९ जनालाई खोप लगाउने लक्ष्य छ।
त्यसका लागि जिल्लाभर १ हजार ९ सय ५० खोप केन्द्र स्थापना गरिएको छ। यी केन्द्रहरूमा स्थानीय पालिका, वडा कार्यालय, अस्पताल, विद्यालय, कलेज, मन्दिर, मस्जिद, चर्च, बसपार्क, नेपाल–भारत सीमा नाका र उद्योग–व्यवसायिक क्षेत्रहरू पनि समावेश छन्।

अभियानमा १ हजार ५ सय ४४ महिला स्वास्थ्य स्वयंसेविका र ३ सय ५० स्वास्थ्यकर्मी गरी कुल १ हजार ८ सय ९४ जनशक्ति परिचालन गरिएको छ।पर्सा र बाराका लागि १० लाख १८ हजार १ सय डोज खोप ल्याइएको हो।

गत भदौ ६ गते पहिलो पटक बीरगन्जमा तीन जनामा हैजाको संक्रमण पुष्टि भएको थियो।त्यसयता बीरगन्जका विभिन्न अस्पतालहरूमा १ हजार ५ सय ६७ जना झाडापखाला र हैजाका बिरामी पुगेका छन्। तीमध्ये २ सय २७ जनामा हैजाको संक्रमण पुष्टि भएको छ भने पोखरिया नगरपालिकामा पनि १८ जना संक्रमित पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ।

 

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय