जनकपुर,३० असाेज । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश अधिवेशनमा प्रतिनिधि छनोट र मनोनयन प्रक्रियालाई लिएर आन्तरिक विवाद तीव्र भएको छ। अधिवेशन जनकपुरधाममा जारी छ, तर प्रतिनिधि छनोटमा विवाद चर्किएपछि अधिवेशनको निर्वाचन प्रक्रियामै अनिश्चितता देखिएको छ।
अध्यक्ष पदका प्रत्यासी योगेन्द्रराय यादवले विधान विपरीत ८० जना प्रतिनिधि मनोनयन गरिएको आरोप लगाउँदै अधिवेशनको निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन्। उनका अनुसार,“सर्लाही जिल्लाका प्रतिनिधि छनोटमा धाँधली गरिएको छ र पाँच प्रतिशत मनोनित प्रतिनिधिमा पनि वर्तमान प्रदेश नेतृत्वको पक्षपात देखिएको छ।”
यादवले अधिवेशनलाई “संविधान र विधानविपरीतको प्रक्रिया” भन्दै चुनाव स्थगित गरी विवाद समाधानपछि मात्रै निर्वाचन प्रक्रिया अघि बढाउन माग गरेका छन्। उनले छठ पर्वपछि मात्रै निष्पक्ष वातावरणमा पुनः निर्वाचन गर्नुपर्ने सुझाव दिएका छन्।समर्थनमा प्रभावशाली नेताहरूयोगेन्द्रराय यादवको पक्षमा पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, केन्द्रीय सदस्यहरू सञ्जय यादव, रामबाबु यादव, अनिरुद्धप्रसाद सिंह, र जिल्लास्तरका अध्यक्षहरू सप्तरीका केदार यादव, धनुषाका पशुपति यादव, रौतहटका राजिव रञ्जन यादव र बाराका रमेश यादव लगायतका नेताहरू खुलेर उभिएका छन्।
मधेश प्रदेशका पूर्वमन्त्री ज्ञानेन्द्रकुमार यादवले भने विवादलाई सामान्य मतभेदको रूपमा व्याख्या गर्दै सर्वसहमतीबाट प्रदेश समिति गठन गर्ने प्रयास जारी रहेको बताएका छन्। “अन्ततः सबै पक्षको सहमतिमा नेतृत्व चयन गरेर पार्टीलाई एकताको सन्देश दिने तयारी भइरहेको छ,” उनले भने।
त्यस्तै, वर्तमान प्रदेश अध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी बालकिशोरप्रसाद यादवले भने अधिवेशनबारे अहिले कुनै प्रतिक्रिया नदिने बताएका छन्। उनले पार्टीभित्रका आन्तरिक छलफलपछि मात्रै औपचारिक धारणा सार्वजनिक गर्ने जनाएका छन्।




