बीरगन्ज,३१ असाेज । सामाजिक सेवा क्षेत्रमा सक्रिय संस्था उपकार सेवा नेपालले प्रत्येक महिनाको नियमित कार्यको रूपमा शुक्रबार पनि ठोरी गाउँपालिका–१ भगवाननगरस्थित वृद्धवृद्धा आश्रममा आश्रित वरिष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा बालबालिकाहरूका लागि दैनिक उपभोग्य सामग्री वितरण गरेको छ ।
संस्थाले आश्रममा बसोबास गरिरहेका १७ जना वृद्धवृद्धा, अपांग, सुस्त मानसिक अवस्था भएका व्यक्ति र बालबालिकाहरूका लागि चामल, पिठो, दाल, नून, खाने तेल, बिस्कुट, चिउरा, भुजा, चना, टूथब्रस, टूथपेस्ट, सर्फ, नुहाउने र लुगा धुने साबुन, डाइपर, बेसार, खुर्सानी, धनियाँ लगायतका उपभोग्य सामग्रीहरू हस्तान्तरण गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि एवं समाजसेवी प्रकाश थारुका अनुसार संस्थाले यो सहयोगलाई “सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलता” अन्तर्गत निरन्तर रूपमा सञ्चालन गर्दै आएको छ। सामग्री हस्तान्तरण कार्यक्रम एक औपचारिक समारोहका बीच सम्पन्न भएको थियो, जसमा स्थानीय जनप्रतिनिधि, आश्रमका व्यवस्थापक तथा स्वयंसेवकहरूको पनि उपस्थिति थियो।
कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले आश्रमका सदस्य रामबहादुर थिङलाई सामग्रीहरू हस्तान्तरण गर्दै संस्थाले देशका विभिन्न जिल्लामा वृद्धाश्रम, अनाथालय र विपन्न समुदायहरूका लागि सहयोग कार्यक्रम निरन्तरता दिने योजना रहेको बताइन्।
उनका अनुसार, संस्थाले हालसम्म वीरगञ्ज, ठोरी, चितवन, परासी र बारा जिल्लामा सामाजिक सहयोगका करिब दुई दर्जन परियोजना सञ्चालन गरिसकेको छ। अध्यक्ष सरावगीले भनिन्, “वृद्धाश्रममा बसोबास गर्ने आमाबुबाको हेरचाह, आहार र स्वास्थ्यको हेरविचार हाम्रो साझा जिम्मेवारी हो। उपकार सेवा नेपालले यो जिम्मेवारीलाई निरन्तरता दिनेछ।”
आश्रमका प्रतिनिधि रामबहादुर थिङले संस्थाप्रति आभार व्यक्त गर्दै भने, “उपकार सेवा नेपालको निरन्तर सहयोगका कारण वृद्धाश्रमको दैनिक सञ्चालन सहज भएको छ। यहाँका आमाबुबाहरूले आफूहरूलाई समाजले बिर्सिएको छैन भन्ने अनुभूति गर्न पाएका छन्।”



