काठमाडौं,३१ असाेज । स्वास्थ्य बीमा बोर्डले आफ्नो पूर्व निर्णयलाई उल्टाउँदै बीमा नवीकरण नगर्ने बीमित परिवारलाई तत्काल थप शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
बोर्डले यसअघि असोज मसान्तभित्र नवीकरण नगरेमा योगदान रकमको १० प्रतिशतदेखि चार गुणासम्म थप शुल्क लाग्ने व्यवस्था गरेको थियो, जुन निर्णयलाई बिहीबार स्थगित गरिएको छ । यो निर्णयसँगै लामो समयदेखि बीमा नवीकरण नगरेका नागरिकलाई ठूलो आर्थिक बोझबाट राहत मिलेको छ । बोर्डले अर्को सूचना नभएसम्म यो व्यवस्था कार्यान्वयन नगर्न दर्ता सहयोगी र अधिकारीहरूलाई निर्देशन दिएको छ ।
बोर्ड स्वयंले सेवाको गुणस्तर सुधार नभएसम्म नवीकरणको संख्या बढ्न नसक्ने स्वीकार गरेपछि यो निर्णय उल्टिएको हो । हाल ६५ प्रतिशत बीमितले मात्र बीमा नवीकरण गर्ने गरेका छन् । ठूला सरकारी अस्पतालमा पूर्वाधार कमजोर हुनु र सीमित जनशक्ति हुनु, सामान्य चेकजाँचका लागि घन्टौं लाइन बस्नुपर्ने बाध्यता, आवश्यक उपकरण अभाव वा बिग्रिएको अवस्था हुनु र फार्मेसीमा बीमाले समेटेका धेरै औषधिहरू उपलब्ध नहुनु लगायतका कारण निर्णय उल्टिएको हो ।
सेवाग्राहीको असन्तुष्टिका कारण कार्यक्रमको अवधारणामाथि नै प्रश्न उठेको छ। बोर्डले सरकारी अस्पतालमा पूर्वाधार सुदृढीकरण, औषधि उपलब्धता र भुक्तानी प्रक्रियालाई चुस्त नबनाएसम्म बीमा कार्यक्रमको प्रभावकारिता नबढ्ने देखिन्छ।



