spot_img

सेनाको खुलासा: जेनजी आन्दोलनमा ७६ को मृत्यु

spot_img
spot_img

काठमाडौं,३१ असाेज । नेपाली सेनाले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन ले निम्त्याएको विध्वंसको भयावह तथ्याङ्क सार्वजनिक गरेको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सेनाले दिएको जानकारीअनुसार, यो हिंसात्मक घटनाका कारण ७६ जनाले ज्यान गुमाए भने राज्यको पूर्वाधार र सुरक्षा प्रणालीमाथि गम्भीर क्षति पुग्यो । आन्दोलनमा २२ जना प्रदर्शनकारी र ३ जना प्रहरीको मृत्यु भएको सेनाले जनाएको छ । ज्यान गुमाउनेमा १० जना कैदीबन्दी र ४१ जना अन्य शीर्षकमा राखिएका व्यक्तिहरू छन् । आन्दोलनबाट सिर्जित अराजकताका कारण १५ हजार ५ सय ८८ जना कैदीबन्दी फरार भए, जसमध्ये ८ हजार ७ सय ९९ जना मात्र पक्राउ वा फिर्ता भएका छन् ।

आन्दोलनले सुरक्षा व्यवस्थामाथि सिधा चुनौती दिएको तथ्याङ्कले पुष्टि गर्छ । सेनाले आन्दोलनका क्रममा ९ सय ७८ थान हातहतियार लुटिएको जानकारी दिएको छ। तीमध्ये ५ सय ८६ हतियार मात्रै बरामद वा फिर्ता गर्न सकिएको छ। सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्ने उद्देश्यले जिलेटिन (विस्फोटक) बोकेर पुगेको समूहलाई रोक्न सफल भएको दाबी गर्दै आफूले संकटको घडीमा खेलेको भूमिकामाथि प्रकाश पारेको छ। यसै क्रममा ६१ जना भीआईपीको हवाई उद्धार गरिएको पनि सेनाले जनाएको छ ।

भदौ २४ गते भएको तोडफोड र आगजनीबाट ६ सय ८८ वटा सरकारी कार्यालयमा क्षति पुगेको सेनाको तथ्याङ्क छ । यसबाहेक ३ सय ७ प्रहरी कार्यालय, २ सय ५९ निजी निवास, १ सय ९८ राजनीतिक दलका कार्यालय र १ सय २८ व्यापारिक प्रतिष्ठानमा समेत क्षति पुगेको थियो । नेपाली सेनाको यो तथ्याङ्कले जेनजी आन्दोलन नेपालको इतिहासमा मानवीय क्षति र भौतिक विनाश को हिसाबले एक त्रासदीपूर्ण घटना रहेको पुष्टि गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय