जनकपुर,०१ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री जीतेन्द्रप्रसाद सोनलले प्रदेशमा शान्ति, सुव्यवस्था र सुशासन कायम गर्न सबै सुरक्षा निकाय र प्रशासनिक निकायहरूलाई सशक्त रूपमा जिम्मेवारी वहन गर्न निर्देशन दिएका छन्। उनले जनतालाई शान्ति र सुरक्षाको स्पष्ट अनुभूति हुने गरी सरल, पारदर्शी र छिटोछरितो सेवा प्रवाह गर्नुपर्ने बताउँदै प्रदेश सरकारको प्राथमिकता सुशासनमा केन्द्रित हुने स्पष्ट सन्देश दिएका छन्।
जनकपुरधामस्थित प्रदेश प्रमुख सचिवालयमा शुक्रबार आयोजित उच्चस्तरीय बैठकमा प्रदेशका सुरक्षा निकायका प्रमुख, प्रमुख सचिव, मन्त्रालयका सचिवहरू, र सरोकारवाला अधिकारीहरू सहभागी थिए। बैठकमा मुख्यमन्त्री सोनलले पछिल्ला दिनमा देखिएका युवापुस्ता (जेनजी आन्दोलन) का प्रदर्शनहरूलाई शान्तिपूर्ण रूपमा सम्बोधन गर्दै त्यसबाट प्राप्त सन्देशलाई सुशासन सुधार र उत्तरदायी प्रशासनका रूपमा रूपान्तरण गर्नुपर्ने बताए।
“सरकारले अब जनतालाई नजिकबाट सेवा दिनुपर्छ। प्रशासनिक ढिलासुस्ती र अस्पष्टताका कारण जनआस्था कमजोर नहोस्,” मुख्यमन्त्री सोनलले भने।
बैठकमा प्रदेशभित्र पछिल्ला हप्तामा देखिएका सीमा अपराध, सवारी दुर्घटना, प्रदर्शन र सामाजिक तनावका घटनाहरूबारे पनि विस्तृत छलफल भएको थियो।मुख्यमन्त्रीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई सीमाक्षेत्रमा गतिविधि निगरानी बढाउन र गुप्त सूचनाको प्रभावकारी आदान–प्रदान प्रणाली बनाउन निर्देशन दिएका छन्।
डीआईजी स्तरका एक अधिकारीका अनुसार बैठकमा सुरक्षा निकायबीचको समन्वय बढाउने र आकस्मिक घटना व्यवस्थापनमा तालमेल सुधार्ने विषयमा सहमति भएको छ।
मुख्यमन्त्री सोनलले भनें, “प्रदेशमा जनताको सुरक्षाभाव बिना विकास सम्भव छैन। त्यसैले सरकारले जनतालाई सुरक्षाको अनुभूति हुने कार्य प्राथमिकतामा राखेको छ।”उनले नागरिकलाई पनि कानूनी व्यवस्था पालनामा सहकार्य गर्न र सुरक्षा निकायलाई आवश्यक सूचना दिन आग्रह गरे।
बैठकमा बिनाविभागीय मन्त्री महेशप्रसाद यादव, मन्त्री कनिश पटेल, प्रमुख सचिव, गृह तथा कानून मन्त्रालयका सचिव, आन्तरिक मामिला मन्त्रालयका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाका प्रमुखहरू उपस्थित थिए।



