बीरगन्ज,०१ कात्तिक । आपराधिक लाभ (ठगी) सम्बन्धी मुद्दाका प्रमुख आरोपी सर्लाहीका संजय कुमार ठाकुरलाई पर्सा प्रहरीले कडाइका साथ निगरानीमा राख्दै कार्तिक १० गतेभित्र विवादास्पद व्यक्तित्व निखत परविन अंसारीलाई उपस्थित गराउने शर्तमा तारेखमा रिहा गरेको छ।
प्रहरी उपरीक्षक (एसपी) दीपक पाठकका अनुसार, ठाकुरमाथि विभिन्न जग्गा कारोबारका नाममा ठगी र किचलो सिर्जना गरेको गम्भीर आरोप छ। विशेषगरी आदर्शनगरस्थित स्काईलाइन महललगायत क्षेत्रका जग्गा कारोबारमा उनले विवाद खडा गर्दै आएको भन्दै पीडितहरूका उजुरीका आधारमा प्रहरी अनुसन्धान अघि बढाएको हो।
“दीपावली र छठ पर्वलाई ध्यानमा राख्दै कार्तिक १० सम्मको समय दिइएको हो,” एसपी पाठकले भने, “यदि उनले निखत परविन अंसारीलाई उक्त म्यादभित्र उपस्थित गराउन सकेनन् भने, कानुन बमोजिम कडा कारबाही हुनेछ।”
निखत परविन अंसारी : विवादको केन्द्रीय पात्र
बीरगन्ज–४ निवासी अब्दुल गनी अंसारीकी छोरी निखत परविन अंसारी, अहिले भारतको मोतिहारीमा बसोबास गर्छिन्। विवाहपछि भारतीय नागरिकता लिएकी उनले, विवाहपूर्व नेपालमा जारी गरिएको नागरिकताको दुरुपयोग गर्दै वीरगञ्जका विभिन्न जग्गामा हकदावी गर्दै विवाद सिर्जना गरेको प्रमाण प्रहरीले पाएको बताएको छ।

उनीविरुद्ध केही वर्षअघि सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप पनि लागेको थियो। त्यसपछि उनी भारततिर फरार भइ नियमित रूपमा लुकेर नेपाल आउने गरेको स्रोतले जनाएको छ। उनका पिता, नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी अब्दुल गनी अंसारी, समेत हाल भारतमा बस्दै आएका छन्।
उद्योग वाणिज्य संघको संलग्नता शंकास्पद
स्रोतका अनुसार, विवादित जग्गा कारोबारी संजय कुमार ठाकुरलाई छुटाउन वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले प्रहरीसँग सिफारिस गरेको आरोप लागेको छ।
एक प्रत्यक्षदर्शीका अनुसार, “बीरगन्ज महानगरपालिकाले कारबाही गर्न लेखेको पत्रको बीचमै, संघका अध्यक्ष स्वयं ठाकुरलाई तारेखमा छोड्न एसपीसँग सिफारिस गर्न पुगेका थिए।”
एसपी पाठकले पनि उक्त भेटको पुष्टि गर्दै भने, “महानगरपालिकाले कारबाही गर्न भन्छ, उद्योग वाणिज्य संघले छुटाउन भन्छ यस्तो विरोधाभासले म स्वयं दुविधामा परेको छु।”
पीडित व्यवसायीहरूका अनुसार, ठाकुर र केडिया ग्रुपका प्रदीप केडियाले मिलेमतोमा स्काईलाइन महल, एनआईसी एशिया बैंक, नबिल बैंक, महालक्ष्मी विकास बैंक, पूजन होटल, कन्टिनेन्टल होटल, सरोवर होटल लगायतका जग्गामा झुटा हकदाबी र किचलो खडा गर्दै आएका छन्।
“उद्योग वाणिज्य संघजस्तो गरिमामय संस्थाको अध्यक्षले यस्ता विवादास्पद व्यक्तिहरूको पक्ष लिनु अत्यन्त दुःखद छ,” एक पीडित व्यवसायीले भने, “यसले संघको नैतिकतामाथि प्रश्न उठाएको छ।”
अध्यक्ष गौतमको सफाइ
यता, उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले भने ठगी प्रकरणमा आफूको कुनै संलग्नता नरहेको दाबी गरेका छन्।
“म व्यक्तिगत कामले प्रहरी कार्यालय गएको थिएँ,” उनले भने, “त्यो भीडमा केही नगरपालिकाका कर्मचारी देखेँ, त्यसपछि भेटबिना फर्किएको हुँ।”
तर, उनले अघिल्लो एसपी गौतम मिश्रको समयमा प्रदीप केडियाको जग्गा विवादका विषयमा प्रहरीसँग भेट भएको स्वीकार गरेका छन्। “त्यो बेला पनि मैले कसैको पक्षमा वकालत गरेको थिइनँ,” उनले सफाइ दिए।
१६ जग्गाधनीको उजुरीपछि ठगी मुद्दा दर्ता
संजय ठाकुरविरुद्ध असोज ३ गते, आदर्शनगरका १६ जना जग्गाधनीले आपराधिक लाभ लिने उद्देश्यले ठगी गरेको भन्दै उजुरी दर्ता गरेका थिए। दशैं बिदाको कारण तत्काल पक्राउ आदेश जारी हुन नसकेको प्रहरी उपरीक्षक पाठकले जानकारी दिए।
हाल प्रहरीले ठाकुरको सम्पूर्ण जग्गा कारोबारका कागजात, धितोका नाममा भएका कारोबार, र तेस्रो पक्षसँगको आर्थिक लेनदेनको विवरण संकलन गरिरहेको छ।
एसपी दीपक पाठकका अनुसार, “यदि ठाकुरले कार्तिक १० गतेसम्म निखत परविन अंसारीलाई उपस्थित गराएनन् वा अनुसन्धानमा सहयोग गरेनन् भने, उनलाई ठगी तथा आपराधिक लाभसम्बन्धी प्रकरणमा सिधा कानूनी कारबाही अघि बढाइनेछ।”यो प्रकरण अब केवल ठगीको मामिला मात्र होइन वीरगञ्जका प्रभावशाली व्यवसायिक व्यक्तिहरू र राजनीतिक निकायबीचको सांठगाँठ र शक्ति प्रयोगको गम्भीर प्रश्न बनेको छ।




