spot_img

कलैया सडक निर्माणमा ढिलाइ, स्थानीयद्वारा हस्ताक्षर अभियान

spot_img
spot_img

बीरगन्ज,०१ कात्तिक । बाराको सदरमुकाम कलैयामा लामो समयदेखि रोकिएको मुख्य सडक निर्माण कार्यलाई अघि बढाउन स्थानीयवासीहरूले शुक्रबारदेखि हस्ताक्षर अभियान सुरु गरेका छन्। “हाम्रो सडक, हाम्रो अधिकार” भन्ने नारासहित सुरु गरिएको अभियानमा पहिलो दिनमै २५० भन्दा बढी स्थानीयले हस्ताक्षर गरी समर्थन जनाएका छन्।

अभियानको नेतृत्व कलैयाका स्वतन्त्र युवा सौरभ चौगाइ, सौरभ पाण्डे, सुमित पटेल, विक्की गुप्ता, सुरज साह, अमित तिवारी र संजय चौधरीले गरिरहेका छन्। उनीहरूले सडक निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै स्थानीय नागरिक, व्यापारी, विद्यार्थी र समाजसेवीहरूलाई हस्ताक्षर अभियानमा सहभागी हुन आग्रह गरेका छन्।

कलैया बजार क्षेत्र मानमत–कलैया–मटिअर्वा हुलाकी सडकखण्ड अन्तर्गत पर्ने ३.५ किलोमिटर लामो सडक खण्ड हो। यो सडक कलैया बजारको मुटु भएर जाने भएकाले दैनिक हजारौं सवारी साधन चल्ने गर्दछन्। तर, निर्माण कार्य लामो समयदेखि अधुरो रहेकाले सडक धुलाम्य, खाल्डाखुल्डी र हिलाम्य बनेको स्थानीयहरूको गुनासो छ।

स्थानीय व्यवसायीहरूका अनुसार सडकको बिग्रिएका कारण बजारमा धुलोले स्वास्थ्य समस्या, व्यापारमा गिरावट, र ग्राहक आवागमनमा कठिनाइ बढेको छ। व्यवसायी राजेश अग्रवाल भन्छन्, “दुकानभित्रसम्म धुलो पस्छ, ग्राहक आउन डराउँछन्। सरकार र ठेकेदारले काम पूरा नगरेर नागरिकलाई सास्ती दिइरहेका छन्।”

स्थानीयले सडक निर्माणको ढिलाइका कारणलाई प्रशासनिक लापरबाही र ठेकेदार कम्पनीको गैरजिम्मेवारी ठहर गर्दै सडक विभाग र हुलाकी राजमार्ग आयोजनालाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

अभियानका संयोजक सौरभ चौगाइका अनुसार, “यदि निकट भविष्यमै काम अघि बढेन भने हामी सडकमा उत्रेर शान्तिपूर्ण विरोध प्रदर्शन र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउनेछौं।”

स्थानीय स्रोतका अनुसार, सो सडक निर्माणका लागि करिब १५ करोड रुपैयाँको लागत अनुमान गरिएको थियो र काम करिब दुई वर्षअघि सुरु भए पनि अझै ५० प्रतिशत मात्रै काम सम्पन्न भएको छ।

हस्ताक्षर अभियानलाई निरन्तरता दिँदै स्थानीयहरूले आगामी हप्तामा कलैया उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय र सडक विभागलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय