काठमाडौं,०१ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक पार्टीको च्यासलस्थित केन्द्रीय कार्यालय पुगेका छन्। गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी र तोडफोड भएपछि उनी लामो समयदेखि त्यहाँ नगएका थिए।
आन्दोलनपछिका घटनाले पार्टी कार्यालय क्षतिग्रस्त बनेपछि एमालेले सचिवालयसहितका प्रमुख बैठकहरू अध्यक्ष ओलीको गुण्डुस्थित निवासमै गर्दै आएको थियो।
हालै ललितपुरको एक होटलमा सम्पन्न केन्द्रीय कमिटी बैठकपछि एमालेले च्यासलमा चियापान कार्यक्रम आयोजना गरेको छ। सोही अवसरमा अध्यक्ष ओली पनि सहभागी भएका हुन्।
च्यासलस्थित पार्टी कार्यालयमा अहिले चियापान कार्यक्रम जारी रहेको छ, जहाँ केन्द्रीय तहका नेतादेखि कार्यकर्तासम्मको उपस्थिति देखिएको छ। यस भेटघाटलाई एमालेभित्रको संगठनात्मक एकता र सामान्यीकरणतर्फको संकेतका रूपमा हेरिएको छ।




