spot_img

सुरेन्द्र भण्डारीमाथि प्रहरी कुटपिट : मुख्यमन्त्री सोनलले दोषीलाई दिए कारबाहीको निर्देशन

spot_img
spot_img

बीरगन्ज,०१ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि प्रहरीले गरेको कुटपिट घटनाप्रति गम्भीर चासो व्यक्त गरेका छन्। घटनापछि शनिबार बिहान अस्पतालमा उपचाररत घाइते अध्यक्ष भण्डारीलाई भेट्न पुगेका मुख्यमन्त्री सोनलले प्रदेश प्रहरी प्रमुखलाई सिधै फोन गरी तुरुन्तै घटनाको छानबिन गरी दोषी प्रहरीलाई कारबाही गर्न निर्देशन दिएका हुन्।

उक्त घटना शुक्रबार राति जनकपुरको सोनारपट्टी क्षेत्रमा भएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले स्थानीय सुनचाँदी पसलमा छापा मार्ने क्रममा विवाद उत्पन्न भएको थियो।दीपावलीजस्तो महत्वपूर्ण पर्वको बेला रातिको समयमा आएको प्रहरी टोलीको छापाबारे व्यवसायीहरू असन्तुष्ट बनेका थिए। व्यापारीहरूलाई अनावश्यक तनाव दिइएको भन्दै प्रतिकार गरेपछि प्रहरी र व्यवसायीबीच झडप भएको थियो।

झडपका क्रममा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी प्रहरीको कुटपिटबाट घाइते भएका हुन्। अहिले उनी अस्पतालमा उपचाररत छन्। स्थानीय व्यवसायीहरूले प्रहरीमाथि त्रास सिर्जना गर्ने, शान्तिपूर्ण व्यवसायमा हस्तक्षेप गर्ने र अत्यधिक बल प्रयोग गर्ने आरोप लगाएका छन्। उनीहरूले दीपावलीको संवेदनशील समयमा व्यापार–व्यवसायमा अनावश्यक दखल दिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

मुख्यमन्त्री सोनलले व्यापारीहरूको सुरक्षाको सुनिश्चितता राज्यको दायित्व भएको भन्दै यस्ता घटनाप्रति शून्य सहनशीलता अपनाइने चेतावनीसमेत दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय