spot_img

ओलीलाई प्रभु साहको चेतावनी : “चुनाव भाँड्ने कुचेष्टा नगर्नुहोस्”

spot_img
spot_img

काठमाडौं,०२ कात्तिक । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमाथि चुनाव प्रक्रिया भाँड्ने प्रयास गरेको आरोप लगाएका छन्। उनले ओलीले “चुनावमा भाग नलिने” भन्दै लोकतान्त्रिक अभ्यासविरुद्ध उभिन खोजेको टिप्पणी गरेका छन्।

कोशी प्रदेश स्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले भने, “चुनावमा भाग नलिन्छु भन्दै प्रधानमन्त्री सुशीला कार्कीलाई चुनौती दिनु गलत संकेत हो। जनताको मतबाट डराउने नेतृत्व असली लोकतान्त्रिक नेता हुन सक्दैन।”

साहले भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा युवामाथि भएको हिंसात्मक दमनको प्रसङ्ग उठाउँदै भने, “त्यो नरसंहारको बेला मौन रहने ओली अहिले जनताको भावना मिचेर टाउको उठाउन खोज्दैछन्।” उनले ओलीजस्ता पात्रहरूबाट देशले सकारात्मक राजनीतिक दिशा पाउन नसक्ने टिप्पणी गरे।

एमालेले हिजो सम्पन्न गरेको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै जनपरिचालन गर्ने र आगामी २१ फागुनमा तोकिएको निर्वाचनमा भाग नलिने निर्णय गरेको थियो। त्यसै सन्दर्भमा साहले सो निर्णयलाई “लोकतान्त्रिक प्रक्रियाबाट पलायन” भनेका हुन्।

“ओलीले आफ्ना विगतका गल्ती र अपराध ढाकछोप गर्न सिंगो पार्टीलाई दाउमा लगाएका छन्,” उनले भने, “चुनाव भाँड्ने कुचेष्टा नगर्नुहोस्, जनताले सबै देखिरहेका छन्।”

साहले एमालेभित्र देखिएको विरोधाभास पनि औंल्याए। “एकातिर ओलीले चुनावमा भाग नलिने निर्णय गर्छन्, अर्कोतिर एमालेका नेताहरू शीतलनिवास र निर्वाचन आयोगमा चुनावी तयारीका बैठकमा सहभागी हुन्छन् — यो द्वैध चरित्र होइन त?” उनले प्रश्न गरे।साहले लोकतन्त्रको मूल आत्मा जनताको सहभागिता र मतप्रक्रियामा निहित रहेको बताउँदै, “जो पार्टी चुनावबाट भाग्छ, उसले जनताको भरोसा गुमाउँछ,” भने।

उनले आम नागरिकलाई संविधान र लोकतन्त्रको रक्षा गर्न सचेत रहन आह्वान गर्दै आगामी निर्वाचनलाई “राजनीतिक शुद्धीकरणको अवसर”को रूपमा लिनुपर्ने धारणा पनि व्यक्त गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय