spot_img

रौतहटमा खोलामा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु

spot_img
spot_img

रौतहट,०२ कात्तिक । रौतहटमा खोलामा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ। दशैं–तिहारको बिदा चलिरहेका बेला साथीहरूसँग नुहाउन गएका ती बालकहरू दुर्भाग्यवश खोलाको गहिरो भागमा पुगेपछि बेपत्ता भएका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीका अनुसार मृतकहरूमा देवाही गोनाही नगरपालिका–३ का निरज साह (१० वर्ष) र उनका दाइ राजकिशोर साहका छोरा अर्जुन साह (१० वर्ष) रहेका छन्। दुवै परिवार अहिले शिवनगरमा बसोबास गर्दै आएका थिए।

घटनास्थल नजिकका स्थानीय बासिन्दाका अनुसार, बालकहरू शनिबार दिउँसो करिब ३ बजे झाझ खोलामा नुहाउन गएका थिए। नुहाउने क्रममा ती बालकहरू खोलाको गहिरो भागमा बगेर हराएपछि स्थानीयले खोजी कार्य सुरु गरेका थिए। केही समयपछि दुवैलाई पानीबाट निकालेर सञ्जिवनी अस्पताल शिवनगर पुर्‍याइएको थियो, तर चिकित्सकले दुबैलाई मृत घोषणा गरेका थिए।

घटनापछि स्थानीयवासी र बालकका आफन्तहरूमा शोकको वातावरण छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

डीएसपी कार्कीका अनुसार वर्षायाम सकिए पनि रौतहटका साना खोलाहरूमा पानीको बहाव अझै केही ठाउँमा तीव्र रहेकाले यस्तो दुर्घटना हुने सम्भावना रहन्छ। “बच्चाहरूलाई अभिभावकको निगरानीबिना खोलामा नपठाउन सबै अभिभावकहरूलाई अनुरोध छ,” उनले भने।

केही दिनअघि मात्रै गौर नगरपालिका–१ को सीमाक्षेत्र नजिकैको बाढीको पानीमा तीन बालिकाको डुबेर मृत्यु भएको घटनाले पनि स्थानीय क्षेत्रमा चिन्ता बढाएको छ। यस वर्ष रौतहटमा मात्रै विभिन्न खोलानाला तथा बाढीका घटनामा दर्जनौं बालबालिकाको ज्यान गइसकेको प्रहरी तथ्याङ्कले देखाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय