बीरगन्ज,०२ कात्तिक । सशस्त्र प्रहरी बलले बाराको विभिन्न स्थानहरूबाट भन्सार छलि गरी ल्याइएका अवैध सामानहरू बरामद गरेको छ। सशस्त्र प्रहरी बल नम्बर १२ गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीका अनुसार, बरामद सामानहरूको अनुमानित मूल्य पाँच लाख ९० हजार रुपैयाँ बराबर रहेको छ। वि.ओ.पि. गोलागञ्जको टोलीले सिम्रौनगढ नगरपालिका–९ बसवरिया पिठुवाघाट सीमाबाट झण्डै ९७ हजार रुपैयाँ बराबरको कपडा र किराना सामान नियन्त्रणमा लिएको छ।
यसैगरी, कलैया उपमहानगरपालिका–१० मटिअर्वास्थित नहर चोकमा खटिएको सीमा सुरक्षा टोलीले बिहीवार यात्रुवाहक अटोहरू जाँच गर्ने क्रममा ५५ हजार रुपैयाँ बराबरको झिलिमिली बत्ति, भाँडावर्तन र मोबाइल ब्याक लाइट बरामद गरेको हो।
बिश्रामपुर गाउँपालिका–३ मुसहर्वा डम्पिङ्ग क्षेत्रबाट मोटरसाइकल प्रयोग गरी ल्याइएको २० हजार रुपैयाँ बराबरको कपाल काट्ने मेसिन र मोबाइल स्ट्यान्ड पनि बरामद गरिएको छ। त्यस्तै, सोही क्षेत्रमा भारतबाट ल्याइएका ६५ हजार रुपैयाँ बराबरका ९ रोल कपडा र २ बोरा रेडिमेड कपडा पनि नियन्त्रणमा लिइएको छ।
कोल्हवी नगरपालिका–६ परसौनाबाट पिपरा जाँदै गरेको बाटोमा लुकाइ छिपाइ राखिएको २५.५ क्युफिट बराबरको ४ थान सिसौको काठ पनि सुरक्षा बेस कोल्हवीबाट खटिएको टोलीले बरामद गरी सव डिभिजन वन कार्यालय कोल्हवीमा बुझाइएको छ। फेटा गाउँपालिका–१ त्रिवेणी चोकमा बि.ओ.पि. बरैनियाबाट खटिएको टोलीले २ लाख २ हजार ३ सय ४० रुपैयाँ बराबरको कपडा र मोबाइलका सामानहरू बरामद गरेको छ।
त्यसैगरी, मटिअर्वा भण्डारी चोकमा अबैध रूपमा ल्याइएका ९० हजार रुपैयाँ बराबरका तीन बोरा जुत्ता चप्पल समेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। सशस्त्र प्रहरी उपरीक्षक केसीका अनुसार, बरामद गरिएका सबै सामानहरू आवश्यक कानुनी प्रक्रियाका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइनेछ।



