spot_img

“विपिन जस्तै मेरो छोरा पनि फर्किँदैन जस्तो लाग्छ” — बेपत्ता सिद्धार्थकी आमा गंगा ढकाल

spot_img
spot_img

काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल २६ महिनादेखि बेपत्ता छन्। अध्ययनका लागि रुस गएका उनी त्यहाँ पुगेर रुसी सेनामा भर्ती भएका थिए।

१३ मंसिर २०८० मा बुबालाई पठाएको अडियो सन्देशपछि सिद्धार्थको कुनै सम्पर्क भएको छैन। अडियोमा उनले भनेका थिए — “बुबा, म आजबाट युद्धमा जाँदैछु, ८–१० दिन टावर हुँदैन, कुरा नहुन पनि सक्छ।” त्यसपछि युक्रेनी सेनाले सार्वजनिक गरेको भिडियोमार्फत उनी युक्रेनी नियन्त्रणमा परेको खुलेको थियो। तर त्यसयता उनको अवस्थाबारे केही जानकारी छैन।

सिद्धार्थका आमा गंगा ढकाल र बुबा बिदुर ढकालले छोरा फर्किने आशमा दिनरात प्रतीक्षा गरिरहेका छन्। गंगाले भनिन्, “छोरा फर्किए हुन्थ्यो, अरू केही चाहिन्नथ्यो। सरकारले पहल गरे हुन्थ्यो।”

ढकाल दम्पतीका अनुसार सिद्धार्थ अध्ययनका लागि पठाउँदा उनीहरूलाई शंका थियो। तर छोराको जिद्दीका कारण सहकारीबाट ऋण निकालेर पठाएका थिए। सिद्धार्थ काठमाडौंस्थित टेक्सास इन्टरनेसनल कलेजमा अध्ययनरत थिए र आफ्ना साथीहरू श्याम ढकाल, सुगम ढकाल र अजय भट्टराईसँगै विद्यार्थी भिसामा रुस गएका थिए।

उनको अवस्थाबारे कुनै समाचार नआएपछि परिवार निराश बनेको छ। “राति अबेरसम्म समाचार सुन्छौं, युक्रेन र रुसका भिडियोज हेर्छौं, तर केही जानकारी आउँदैन,” सिद्धार्थका बुबा बिदुरले दुखेसो पोखे।

गंगाले भनिन्, “अब सुशीला कार्की प्रधानमन्त्री भएकी छन्, उहाँलाई भेटेर अनुरोध गर्न चाहन्छु — मेरो छोरा फर्काउन पहल गरिदिनुहोस्।”

सिद्धार्थ बेपत्ता भएको दुई वर्ष पूरा हुँदै गर्दा परिवार अझै पनि एउटै आशामा छ — “छोरा बाँचेकै होस् र एकदिन घर फर्कियोस्।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय