नेपाली काँग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले आफू देश छोडेर भागेको भन्ने दाबी असत्य भएको बताएका छन्। गृहमन्त्री ओमप्रकाश अर्यालले दिएको अन्तर्वार्तामा आफू अमेरिका भागेको बताइएपछि खड्काले सोमबार पत्रकार सम्मेलन गर्दै ती आरोपको खण्डन गरेका हुन्।
जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको आफ्नै निवास परिसरमा आयोजित पत्रकार सम्मेलनमा खड्काले प्रश्न गर्दै भने, “म कुन कारणले देश छोडेर भाग्नुपर्ने हो? म भ्रष्टाचारविरुद्ध अभियान चलाउने मान्छे हुँ।”
खड्काले आफू राजनीतिमा खर्चिलो संस्कृतिका कारण व्यवसाय गरेर टेकेको स्पष्ट पारे। “राजनीति खर्चिलो हुन्छ भनेर मैले व्यवसाय सुरु गरेको हो। त्यसबाटै परिवार पाल्दै राजनीति गरिरहेको छु,” उनले भने।
पूर्वमन्त्री खड्काले आफ्नो पत्नीलाई डेंगु भएको कारण उपचारका लागि भारत गएको पनि स्पष्ट पारे। “श्रीमती बिरामी भएकी थिइन्, उपचारका लागि भारत गएको हो, भागेको होइन,” उनले जोड दिए।
खड्काले गृहमन्त्री अर्याललाई कानूनी जिम्मेवारीअनुसार बोल्न आग्रह गर्दै भने, “उहाँ कानूनका विद्यार्थी हुनुहुन्छ, त्यसैले प्रमाणबिना आरोप लगाउनु न्यायिक मर्यादाको विरुद्ध हो।”




