काठमाडौं, ३ कात्तिक – इजरायलमा हमासको आक्रमणमा मारिएका कञ्चनपुरका विपिन जोशीको शव सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको छ। प्रधानमन्त्री, मन्त्री तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए।
विपिनको शव आजै भिमदत्तनगरपालिकास्थित उनको घर पुर्याइने र कञ्चनपुरमै अन्तिम दाह संस्कार गरिने छ। अध्ययनका लागि इजरायल पुगेका विपिन २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणमा बन्धक बनाइएका थिए।
इजरायली अधिकारीहरूले असोज २७ मा उनकाे मृत्यु पुष्टि गरेका थिए। युद्धविरामपछि हमासले बन्दी साटासाट प्रक्रियामा विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो। डीएनए परीक्षणले शव विपिनकै भएको पुष्टि गरेको छ भने फरेन्सिक जाँचले उनी अपहरणका बेला नै मारिएको देखाएको छ।
नेपाल ल्याउँदा उनको कफिनमा नेपाली झण्डा ओढाइएको थियो। आइतबार इजरायलको तेल अवीवस्थित स्मारकमा पनि श्रद्धाञ्जली दिइएको थियो।



