spot_img

पर्सामा ५ लाखभन्दा बढीले हैजाविरुद्ध खोप खाए, छठपछि दोस्रो चरणको अभियान

spot_img
spot_img

वीरगञ्ज, पर्सा – स्वास्थ्य कार्यालय पर्साले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा असोज २६ देखि कात्तिक २ गतेसम्म सात दिने हैजा खोप अभियान सञ्चालन गरी जिल्लाका १४ वटै स्थानीय तहमा ५ लाख ४७ हजार ३११ जनालाई खोप प्रदान गरेको छ।

स्वास्थ्य कार्यालयका अनुसार, १ वर्षमाथिका जनसङ्ख्याको कुल ६ लाख ५२ हजार १२९ मध्ये ८४ प्रतिशतले खोप पाइसकेका छन्। सबैभन्दा बढी प्रभावित वीरगञ्ज महानगरपालिकामा २ लाख ७५ हजार ६७३ मध्ये ८२ प्रतिशत अर्थात् २ लाख २६ हजार १६६ जनाले खोप लगाएका छन्।

अभियान अन्तर्गत पर्सागढी, बहुदरमाई, पोखरिया, सखुवाप्रसौनी, जगरनाथपुर, छिपहरमाई, विन्दवासिनी, पटेर्वा सुगौली, धोबिनी, कालिकामाई, पकहामैनपुर, जिराभवानी र ठोरी गाउँपालिकामा समेत खोप वितरण गरिएको थियो। घरदैलो कार्यक्रममार्फत पनि लक्षित जनसंख्यालाई खोप उपलब्ध गराइएको थियो।

जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार, सात दिनको अभियानमा १६ प्रतिशत जनसंख्या अझै खोपविहीन छन्। उनीहरूले छठ पर्वपछि दोस्रो चरणको अभियान सञ्चालन गरी बाँकी जनसंख्यालाई पनि खोपको दायरामा ल्याउने तयारी गरिरहेका छन्।

गत भदौ ६ देखि सुरु भएको हैजा प्रकोपमा वीरगञ्जमा हालसम्म २४५ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ। अभियानले महामारी रोकथाममा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय