काठमाडौं — जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार खर्चका लागि सरकारले ४८ लाख ५८ हजार रुपैयाँ वितरण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा प्रत्येक घाइतेलाई २० हजारका दरले रकम पठाइएको हो। पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुराका घाइतेहरूलाई यो सहायता रकम पुगेको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रिपरिषद्को असोज १२ गतेको निर्णयअनुसार तत्कालका लागि भैपरी खर्चका रूपमा रकम उपलब्ध गराइएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २ हजार ४२९ जना घाइतेको विवरण प्राप्त भएको छ। ती घाइतेहरूका लागि परिचयपत्र वितरण, पुनःउपचारका लागि अस्पताल तोक्ने र नि:शुल्क आवतजावतको व्यवस्था समेत गरिएको छ।
सरकारले घाइतेहरूको अवस्थाअनुसार वर्गीकरण गरी थप राहत र पुनर्स्थापनाका उपायहरू अघि बढाउने तयारी गरेको छ। अहिलेसम्म स्वास्थ्य मन्त्रालयले एक अर्बभन्दा बढी रकम उपचारमा खर्च गरिसकेको जनाएको छ। प्रधानमन्त्री सुशीला कार्कीले सम्बन्धित निकायलाई उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी छन्।
यसैबीच, आन्दोलनका क्रममा मृत्यु भएका ५३ जनाका परिवारलाई सरकारले १५ लाखका दरले राहत र किरिया खर्च पठाएको छ। तीमध्ये ४९ जनाका परिवारले रकम प्राप्त गरिसकेका छन् भने ४ जनालाई बुझाउने प्रक्रिया जारी छ। सरकारले मृतक परिवारलाई १० लाख आर्थिक सहायता र ५ लाख किरिया खर्च दिने निर्णय गरेको थियो।
मृतकका शवहरू परिवारको जिम्मा लगाउन दुर्गम जिल्लाहरूमा हेलिकप्टरसमेत प्रयोग गरिएको थियो। सरकारले शहीदहरूको सम्झनामा ‘जेनजी जागरण स्मारक पार्क’ निर्माण गर्ने निर्णय पनि गरेको छ।
जेनजी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको पुष्टि भएको छ। घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा न्यायिक आयोग गठन गरिएको छ।



