४ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरूले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पाँच बुँदे माग पेस गरेका छन्। उनीहरू मंगलबार बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीलाई आन्दोलनका मागहरू बुझाएका हुन्।
घाइते रुपिन खड्काका अनुसार आन्दोलनका सहभागीहरूले गोली प्रहार गर्नेप्रति कारबाही, संविधान संशोधन, आन्दोलनको संरक्षण, भ्रष्टाचार छानबिन र राजनीतिक प्रतिवद्धताको कार्यान्वयन लगायतका माग राखेका छन्।
‘हामीले पाँच बुँदे माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छौं,’ खड्काले भने, ‘माग पूरा नभए सरकारले जिम्मेवारी लिनुपर्नेछ।’
प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनका घाइतेहरूसँगको भेटमा सरकारले जेनजी आन्दोलनको मर्म र म्यान्डेटअनुसार काम गर्ने प्रतिबद्धता जनाइन्।
‘हामी जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौं। कानुनी प्रक्रिया अनुसार सरकार अघि बढ्छ,’ प्रधानमन्त्री कार्कीले भनिन्।
उनले तोकिएको समयमै चुनाव हुने र भ्रष्टाचारको छानबिन तीव्र गतिमा भइरहेको दाबी समेत गरिन्।
‘चुनाव पनि हुन्छ, भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ। राज्यका निकायहरूले तीव्र गतिमा छानबिन गरिरहेका छन्,’ उनले भनिन्।
प्रधानमन्त्री कार्कीले जनतालाई सरकारमाथि निरन्तर निगरानी र दबाब कायम राख्न पनि आग्रह गरिन्।
‘तपाईंहरू बोल्न नछाड्नुहोस्, हामीलाई दबाब दिन पनि नछाड्नुहोस्,’ उनले भनिन्, ‘छानबिनको परिणाम अब चाँडै देखिनेछ।’



