spot_img

बीरगन्जका दुई व्यापारिक पसलमा मध्यरात आगलागी

spot_img
spot_img

बीरगन्ज,०५ कात्तिक। बीरगन्ज महानगरपालिका–१६ स्थित दुई व्यापारिक पसलमा मध्यरात अज्ञात कारणले भीषण आगलागी भएको छ। बुधवार बिहान करिब २:१५ बजे “रोहित केमिकल ट्रेडर्स” र “रोहित सेल्स स्टोर” नामक पसलमा एक्कासी आगो लागेको प्रहरीले जानकारी दिएको छ।

प्रारम्भिक विवरणअनुसार, आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी र स्थानीय बासिन्दा उद्धारमा जुटेका थिए। गणेशटोल प्रहरी चौकीबाट ३ जना, तालुक प्रहरी कार्यालय विर्ताबाट इन्सपेक्टरको कमाण्डमा ३० जना तथा वीरगन्ज भन्सार कार्यालयबाट १० जना गरी जम्मा ४३ जना सुरक्षाकर्मी आगो नियन्त्रणमा खटिएका थिए।

आगलागी नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाको दमकल, पोखरिया नगरपालिकाको दमकल र वीरगन्ज मेट्रो ट्याङ्क समेत परिचालन गरिएको थियो। करिब तीन घण्टाको प्रयासपछि बिहान साढे ५ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पसलमा रहेका रासायनिक पदार्थ, इलेक्ट्रोनिक्स सामग्री र भण्डारण गरिएको स्टक जलेर ठूलो क्षति भएको अनुमान गरिएको छ। यद्यपि क्षतिको विस्तृत विवरण संकलन कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक रूपमा विद्युत् सर्टसर्किट वा रासायनिक पदार्थको प्रतिक्रिया कारण हुन सक्ने अनुमान गरिएको भए पनि आगलागीको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको पर्सा प्रहरीका डीएसपीले बताएका छन्।

स्थानीय बासिन्दाले दमकल र सुरक्षाकर्मीको त्वरित सहकार्यका कारण आगो अन्य नजिकैका पसल र घरमा फैलिन नपाएको बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय