चितवन,०५ कात्तिक। चितवन जिल्लाको खैरहनी नगरपालिका–२, जनजोन टोलस्थित भित्रि सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
प्रहरीका अनुसार मंगलबार राति करिब १२:३० बजे बागमती प्रदेश नम्बर ०३–००५ प ४३०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा ठोक्किँदा चालक गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उद्धार गरी भरतपुर सरकारी अस्पताल पुर्याइएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको उमेर करिब २२ देखि २३ वर्ष बीच अनुमान गरिएको छ। उनको नाम, थर र ठेगाना हालसम्म नखुलेको र पहिचानका लागि प्रहरीले अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार मोटरसाइकल तीव्र गतिमा रहेको र सडकको मोडमा सन्तुलन गुमाउँदा दुर्घटना भएको अनुमान गरिएको छ।
दुर्घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र मृतकको परिचय खुलाउन प्रहरीले स्थानीयबासी र आसपासका पालिकाहरूमा सूचना पठाएको जनाएको छ।




