spot_img

रौतहटमा तिहार एक्सप्रेस बसमा आगलागी

spot_img
spot_img

रौतहट,०५ कात्तिक । रौतहटको चन्द्रपुर नगरपालिका–४, पश्चिम लच्का नजिकै बुधबार बिहान यात्रुले भरिएको बसमा एक्कासी आगलागी हुँदा ठूलो क्षति भएको छ। काठमाडौंबाट तिहार मनाउन घर फर्किरहेका यात्रुहरू बोकेको उक्त बस पूर्ण रूपमा जलेर नष्ट भएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीका अनुसार बागमती प्रदेश नम्बर २–०३–००१ ख ५५५५ नम्बरको ‘तिहार एक्सप्रेस’ नामक बसमा बिहान करिब ७:१५ बजे ब्याट्रीको तार सर्ट भएर आगलागी सुरु भएको प्रारम्भिक अनुमान गरिएको छ।

बसमा आगो लाग्न थालेको थाहा पाएलगत्तै चालकले सवारी सडक किनारमा रोकेका थिए। त्यसपछि यात्रुहरूले हतारमा झ्याल र ढोका हुँदै बाहिर हाम फालेर ज्यान जोगाएका थिए। बसमा करिब ४० जना यात्रु सवार रहेको बताइएको छ। सौभाग्यवश, कुनै मानवीय क्षति नभएको प्रहरीले पुष्टि गरेको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेशकुमार झाको कमाण्डमा गएको टोलीले स्थानीयवासी र बारुण यन्त्रको सहयोगमा करिब एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा ल्याएको थियो। तर, आगो नियन्त्रणमा आउँदासम्म बस पूर्ण रूपमा जलेर ध्वस्त भइसकेको थियो।

आगलागीका कारण बसभित्र रहेका यात्रुका लगेज, व्यक्तिगत सामग्री र यात्रु टिकट बुकिङ अभिलेखहरू समेत नष्ट भएका छन्।घटनापछि पूर्वपश्चिम राजमार्गको उक्त खण्डमा करिब डेढ घण्टा सवारी आवागमन रोकिएको थियो, जसका कारण यात्रुहरूलाई अन्योल र सास्ती भएको थियो।

प्रहरीले बसको विद्युत प्रणाली र तार जडानको त्रुटि कारण आगलागी भएको प्रारम्भिक निष्कर्ष निकालेको छ। तर घटनाको प्राविधिक परीक्षण र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

स्थानीय बासिन्दाले दुर्घटनापछि तत्काल उद्धारमा सहयोग पुर्‍याएका थिए। उनीहरूले दमकल ढिलो आइपुग्दा आगो छिट्टै फैलिएको बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय