काठमाडौ,०५ कात्तिक । तिहार पर्वको रौनक बढ्दै जाँदा राजधानी काठमाडौँ उपत्यका खाली हुँदै गएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो केही दिनमा मात्रै ४४ हजार ५०९ जना उपत्यका बाहिरिएका छन् भने ३१ हजार १२ जना भित्रिएका छन् ।
रोजगारी, अध्ययन, व्यापार र पारिवारिक कारणले वर्षभर राजधानीमा बसोबास गर्ने धेरै नागरिकहरू अहिले तिहार मनाउन आफ्ना गाउँघर फर्किन थालेका छन् । ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार तिहार नजिकिएसँगै दैनिक यात्रु संख्यामा उल्लेख्य वृद्धि भएको हो । “तिहार सुरु भएसँगै मुख्य नाकाहरूमा यात्रुको चाप दोब्बर भएको छ,” उनले भने ।
ट्राफिक प्रहरीको तथ्यांकअनुसार नागढुंगा नाका यस अवधिमा सबैभन्दा व्यस्त रहेको छ । सो नाकाबाट मात्रै १८ हजार ९२० यात्रु राजधानीबाट बाहिरिएका छन् । यसैगरी, थानकोट नाकाबाट २८५, तिनपिप्लेबाट ८४५ र साँखु नाकाबाट ६९२ जना उपत्यका बाहिरिएको विवरणमा उल्लेख छ ।
चाडपर्वमा यात्रुको भीड बढ्ने भएपछि सवारीसाधनमा हुने ठगी, सिट क्षमताभन्दा बढी यात्रु राख्ने, ट्राफिक जाम र दुर्घटनाजस्ता घटनालाई नियन्त्रण गर्न विशेष ट्राफिक व्यवस्थापन योजना लागू गरिएको छ । प्रहरी प्रवक्ता सुवेदीका अनुसार “नाकाहरूमा अतिरिक्त ट्राफिक प्रहरी परिचालन गरिएको छ, साथै सवारी चेकिङ, टिकट अनुगमन र हेल्पडेस्क संचालनमा छन् ।”
ट्राफिक प्रहरीले यात्रुलाई सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न सवारीसाधनको प्राविधिक अवस्था जाँच गरेर मात्र यात्रा थाल्न आग्रह गरेको छ । साथै कुनै समस्या, ठगी वा विवाद भएमा तुरुन्तै ट्राफिक प्रहरीको हेल्पलाइन १०३ मा सम्पर्क गर्न सुझाव दिइएको छ ।
तिहार र छठ पर्वका अवसरमा राजधानीबाट बाहिरिनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ, जसका कारण ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन प्रहरी तयारी अवस्थामा रहेको छ ।



