तिहारको रमाइलो माहोलसँगै अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ ढिकुरास्थित भगवती आधारभूत विद्यालयका अभिभावक र विद्यार्थीहरू आफ्नै विद्यालयका लागि देउसी–भैलो खेल्दै गाउँ–गाउँ पुगेका छन्।
विद्यालय सञ्चालनका लागि आर्थिक स्रोत सङ्कलन र संस्कृति संरक्षण दुबै उद्देश्यका साथ उनीहरूले पुराना सोरठी, मारूनी, देउसी–भैलो, झ्याउरे जस्ता लोकगीत र नृत्य प्रस्तुत गर्दै निधारमा आशा र उत्साहका रंग भरेका छन्।
“आफ्नै विद्यालयको उज्यालोका लागि नाच्दै गाउँभरि घुमिरहेका छौं,” गाउँपालिका सदस्य धर्मराज पाण्डेले भावुक हुँदै भन्नुभयो, “साना बालबालिकाले गाउँभरि गीत गाउँदै सहयोग माग्दा जोकोहीको मुटु पग्लिन्छ।”
कक्षा १ देखि ५ सम्म सञ्चालन हुने विद्यालयमा हाल चारजना मात्र शिक्षक छन्। समुदायको सहयोगमा थप शिक्षक नियुक्त गरेर विद्यालयको गुणस्तर बढाउने उनीहरूको सपना हो।
यी अभिभावक र बालबालिकाको देउसी–भैलोले न केवल विद्यालयमा उज्यालो ल्याइरहेको छ, बरु गाउँकै शिक्षा र संस्कृतिमा नयाँ भरोसा पनि जगाइरहेको छ।




