spot_img

बीरगन्जमा बढ्दो लामखुट्टे प्रकोप नियन्त्रणका लागि आजदेखि विषादी छर्ने अभियान सुरु

spot_img
spot_img

बीरगन्ज,०६ कात्तिक । पछिल्ला दिनमा बीरगन्जमा लामखुट्टेको प्रकोप तीव्ररूपमा बढ्दै गएपछि बीरगन्ज महानगरपालिकाले डेंगु, मलेरिया लगायतका रोगको जोखिम कम गर्न विशेष विषादी छर्ने अभियान सुरु गर्न लागेको छ।

महानगरको सरसफाइ व्यवस्थापन महाशाखाका प्रमुख सर्फुदिन मियाँका अनुसार, अभियान कात्तिक ६ गते देखि सुरु भई मंसिर ३ गतेसम्म सञ्चालन हुनेछ। “जाडो सुरु हुनुअघि लामखुट्टे बढ्ने समय भएकाले संक्रमण फैलिन नदिन मेयर राजेशमान सिंहको निर्देशनमा हरेक वडामा विषादी छर्ने तयारी गरिएको हो,” मियाँले बताए।

महानगरका सबै वडामा तालिकाअनुसार पम्प स्प्रे मार्फत लामखुट्टे नियन्त्रणका लागि विषादी छर्किने र नाला, पोखरी तथा पानी जम्ने स्थानहरूमा लार्भा नष्ट गर्ने कार्य गरिनेछ। यस अभियानमा सरसफाइ कर्मचारी, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको सक्रिय सहभागिता रहनेछ।

मियाँका अनुसार, लामखुट्टे नियन्त्रणका यस्ता नियमित अभियानहरूले डेंगु र मलेरियाजस्ता प्राणघातक रोगहरूको संक्रमण फैलिन नदिन महत्वपूर्ण भूमिका खेलेका छन्। उनले नगरवासीलाई पनि घर वरिपरि पानी नजम्न दिन, सरसफाइमा ध्यान दिन र ज्वरो वा लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरे।

चिसो र गर्मीबीचको संक्रमणकालमा बीरगन्जमा लामखुट्टे प्रकोप बढ्ने भएकाले महानगरले हरेक वर्ष विषादी छर्ने अभियान सञ्चालन गर्ने परम्परा कायम राखेको छ। यस वर्षको अभियानलाई भने जनस्वास्थ्यलाई लक्षित गर्दै अझ प्रभावकारी र व्यापक बनाइने महानगरले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय