सर्लाही,०६ कात्तिक । सर्लाही प्रहरीले ५ किलोभन्दा बढी गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले कौडेना गाउँपालिका–२, फुलपरासीस्थित हुलाकी राजमार्ग खण्डबाट मङ्गलबार बिहान सवारी जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक रविन्द्र कार्कीको टोलीले सुखचैनाबाट फुलपरासीतर्फ जाँदै गरेको मोटरसाइकललाई शंका लागेपछि रोकेर जाँच गर्दा सिटमुनि प्लास्टिकमा बेरेर लुकाइराखिएको ५ किलो ३०० ग्राम गाँजा फेला परेको जनाएको छ।
गाँजासहित पक्राउ पर्नेमा कौडेना गाउँपालिका–१, सुन्दरपुरका १८ वर्षीय दिप नारायण ठाकुर र सोही ठाउँका ३० वर्षीय लोजा बैठा रहेका छन्।
पक्राउ परेका दुवैजनालाई मोटरसाइकल सहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको प्रहरीले जानकारी दिएको छ।




