spot_img

सिरहामा परिवारमाथि आक्रमण, पीडितको प्रहरीमाथि आपत्ति

spot_img
spot_img

जनकपुर,०६ कात्तिक ।  सिरहाको मिर्चैया नगरपालिका–३, छड्की टोलमा भएको आक्रमण घटनामा प्रहरीले राजनीतिक दबाबमा दोषीलाई उम्काएको र जाहेरी दर्ता गर्न अस्वीकार गरेको आरोप लागेको छ।

पीडित परिवारका अनुसार कात्तिक २ गते राति घरमै पसेर १५–२० जनाको समूहले खुकुरी, रड र भाटा प्रयोग गर्दै आक्रमण गर्दा एकै परिवारका चार जना घाइते भएका थिए। घाइतेमध्ये ६० वर्षीय शिवनन्दन यादव, उनकी श्रीमती ५७ वर्षीया दुर्गी देवी यादव, ४२ वर्षीय छोरा जमाहिर यादव र ३७ वर्षीया बुहारी रिता यादव छन्। उनीहरूमध्ये केही अहिले पनि उपचाररत छन्।

घटनापछि प्रहरीले मिर्चैया–३ का पूर्व वडाध्यक्ष हरिकुशियैत यादव, किशोर धुर्झार यादव, अशोक यादव, जगदीश धुर्झार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिएको थियो। तर, पीडितका अनुसार तीमध्ये तीनजनालाई राजनीतिक दबाबमा प्रहरीले छोडिदिएको छ।

घाइते शिवनन्दन यादवले भने, “दोषीलाई प्रहरीले नै उम्कायो, जाहेरी दर्ता गर्न पनि मानेन। उल्टै नाम हटाएर ल्याए मात्रै दर्ता हुने भन्यो। यसरी न्याय कसरी पाउँछौं?”

तर, इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेशराज पुरीले आरोप अस्वीकार गर्दै घटनामा संलग्न नभएका व्यक्तिको नाम जाहेरीमा राखिएकाले दर्ता गर्न नसकिएको बताए। उनका अनुसार पछिल्लो अनुसन्धान र पक्राउ परेकाको बयानले छाडिएका व्यक्तिहरू आक्रमणमा संलग्न नदेखिएकाले तारेखमा छोडिएको हो।

डिएसपी पुरीले थपे, “संलग्न नै नभएका व्यक्तिको नाम जाहेरीमा ल्याएर दर्ता गर्न मिल्दैन। तर, घटनाबारे थप अनुसन्धान भइरहेको छ।”

यसबीच, पीडित परिवारले निष्पक्ष छानबिन र न्यायको माग गर्दै उच्च प्रहरी निकायमा उजुरी दिने तयारी गरेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय