काठमाडौं,०६ कात्तिक । विस्तारको क्रममा रहेको पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक खण्ड यात्राका लागि निकै सहज बन्दै गएको छ। सडकको ११३ किलोमिटर खण्डमध्ये दाउन्नेको केही भाग बाहेक अन्य स्थानमा यातायात पूर्ण रूपमा सहज भइसकेको नारायणघाट–बुटवल सडक योजनाले जनाएको छ।
योजना अन्तर्गत पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार अहिले सडकका ११ स्थानमा काम जारी छ। दाउन्नेको पूर्वी खण्डमा करिब दुई किलोमिटर र पश्चिम खण्डमा करिब पाँच किलोमिटर बाहेक सबै क्षेत्रमा गाडी सहज रूपमा चल्न सक्ने अवस्था बनेको छ। दाउन्ने खण्डमा पनि धुलो हटाएर यातायात सहज पारिएको छ।
खनालका अनुसार “साना २२ र ठूला १२ पुलमध्ये अरुण खोला र चोरमाराका दुई ठूला पुलबाहेक सबै पुल निर्माण पूरा भइसकेका छन्। एकतर्फी कालोपत्र सकिएको ठाउँमा अर्कोतर्फी कालोपत्र, दुईतर्फी कालोपत्र भएको स्थानमा सर्भिस लेन निर्माण र सडकको बीचमा डिभाइडर बनाउने काम भइरहेको छ।”
सडक विस्तारको ठेक्का पाएका चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका ठेक्का व्यवस्थापक इन्जिनियर राकेश झाले भने, “नारायणघाटबाट बुटवल साढे दुई घण्टामा पुग्न सकिन्छ। विगतमा यो दूरी पार गर्न सात घण्टा लाग्थ्यो। सडक सहज भएपछि गाडीको मर्मत खर्चमा समेत कमी आएको छ।”
यस सडक विस्तारपछि एसियाली हाइवेको मापदण्डअनुसार चार लेनको सडकमा यात्राको समय ११३ किलोमिटर दूरी ९० मिनेटमा छोटिने जनाइएको छ। कुल १७ अर्ब रुपैयाँको बजेटमध्ये ८५ प्रतिशत रकम एसियाली विकास बैंक (एडिबी)ले १.५ प्रतिशत व्याजदरमा ऋण सहयोग गरेको छ।
सडक विस्तारको काम विसं २०७५ माघदेखि सुरु भएको थियो र चौथो पटक थप म्याद दिँदै विसं २०७९ साउनमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। अहिले गैँडाकोट, देवचुली, चोरमारा र दाउन्ने क्षेत्रमा काम तीव्र गतिमा भइरहेको छ।
यातायात सहज हुँदा यात्रु र चालक दुवैमा सहजता बढेको छ भने गाडीको मर्मत खर्च र यात्रा समयमा ठूलो कमी आएको सडक प्रयोगकर्ताहरू बताउँछन्।



