बीरगन्ज,०६ कात्तिक । छठ पर्व नजिकिँदै गर्दा बीरगन्जको सिर्सिया नदी प्रदूषणको चपेटामा परेपछि हजारौँ व्रतालु र श्रद्धालु दूषित पानीमै पूजा गर्न बाध्य भएका छन्। उद्योगजन्य फोहोर र रासायनिक पदार्थ मिसिँदा नदीको पानी कालो र दुर्गन्धित बनेको छ, जसले धार्मिक तथा सांस्कृतिक पर्वकै पवित्रता माथि प्रश्न उठाएको छ।
छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष रञ्जन सिंह राजपूतका अनुसार बीरगन्ज महानगरपालिका र स्थानीय प्रशासनले नदी सफाइ र प्रदूषण नियन्त्रणमा प्रभावकारी पहल नगरेका हुन्। “वर्षभरि कुनै कदम चालिँदैन, छठ नजिकिँदा मात्रै बैठक र गोष्ठी हुन्छन्, तर परिणाम शून्य रहन्छ,” उनले गुनासो गरे।
सिर्सिया नदीको प्रदूषणले पर्सा र बाराका विभिन्न बस्तीहरू सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर, रामवन, रानीघाट, अशोकवाटिका, छपकैया, सिमरा र बकुलियासहितका क्षेत्रहरू प्रभावित भएका छन्। त्यस्तै, सीमावर्ती भारतीय सहर रक्सौलका श्रद्धालुहरू पनि दूषित पानीमा छठ मनाउन बाध्य छन्।
सिर्सिया नदी अनुगमन समितिको डेढ दशकअघिको प्रतिवेदनले बारा–पर्सा औद्योगिक कोरिडोरमा रहेका छाला, साबुन, घिउ, फलाम, कपडा र मदिरा उद्योगहरूबाट निस्कने रसायनयुक्त फोहोर पानी नै नदी प्रदूषणको मुख्य कारण भएको निष्कर्ष निकालेको थियो।
बीरगन्ज महानगरपालिकाले पटक–पटक उद्योगहरूलाई सचेत गराए पनि धेरै उद्योगहरूले वाटर ट्रीटमेन्ट प्लान्ट सञ्चालन नगरी फोहोर नदीमै फाल्ने गरेको स्थानीयको आरोप छ। केहीले अनुगमनका बेला मात्रै पानी प्रशोधन गर्ने गरेको पनि देखिएको छ।
गत असोज २८ गते सरोकारवालासँगको छलफलमा उद्योगी, स्थानीय प्रशासन र जनप्रतिनिधिहरूले प्रदूषणको जिम्मेवारी एक अर्कामाथि थोपरेका थिए। मेयर राजेशमान सिंहले बाराका स्थानीय तहहरूले सहकार्य नगरेको गुनासो गर्दै सफाइ अभियानमा कठिनाइ भएको बताए।
चार दशकदेखि प्रदूषित बन्दै आएको सिर्सिया नदी अहिले पूर्ण रूपमा कालो र दुर्गन्धित बनेको छ। पानी मानव, पशु र सिँचाइका लागि अयोग्य बनेको छ भने धार्मिक कार्यका लागि प्रयोग गर्न पनि जोखिमपूर्ण छ।
रानीघाट छठ पूजा समितिका अध्यक्ष राजपूत भन्छन्, “हामीले बारम्बार नदी सफा गर्न आग्रह गरेका छौं, तर कसैले सुनेन। अब छठ पर्व दूषित पानीमै मनाउनुपर्ने बाध्यता छ।”
स्थानीय बासिन्दा र सरोकारवाला निकायहरूले तत्काल प्रदूषण नियन्त्रण र दीर्घकालीन नदी संरक्षण योजना लागू गर्न माग गरेका छन्, अन्यथा सिर्सिया नदीको धार्मिक र सांस्कृतिक महत्त्व थप संकटमा पर्ने चेतावनी दिएका छन्।




