जनकपुर,०७ कात्तिक । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले छठ पर्वपछि प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। उनी गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। नेपालको संविधान अनुसार मुख्यमन्त्रीले नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनैपर्छ।
मुख्यमन्त्री सोनलले चाडपर्वका कारण विश्वासको मत लिन ढिलाइ भएको बताए।
“छठ पर्वपछि प्रदेश सभाको बैठक बोलाएर विश्वासको मत लिन्छु। कुनै समस्या हुने छैन,”
उनले भनेसोनल जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा मुख्यमन्त्री बनेका हुन्।
१०७ सदस्यीय मधेस प्रदेश सभामा सरकार बनाउन ५४ मत आवश्यक पर्छ। यो हिसाबले सोनलको पक्षमा अहिले ३ मतको बहुमत छ।
यद्यपि गठबन्धनमा आवश्यक संख्या भए पनि राजनीतिक स्थायित्व चुनौतीपूर्ण देखिन्छ।जनमत पार्टीका दुई प्रदेश सभा सदस्य — पूर्वमुख्यमन्त्री सतीश कुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साह — पार्टी फुटाएर बनेको जनस्वराज पार्टीमा सनाखत गरिसकेका छन्।
निर्वाचन आयोगले जनमत पार्टीको विभाजनलाई मान्यता दिए पनि सर्वोच्च अदालतले सो निर्णयलाई स्थगन (होल्ड) गरेको छ। त्यसैले अदालतको अन्तिम निर्णय नआएसम्म ती सांसदहरूलाई जनमत पार्टीकै ह्वीप लागू हुनेछ।
त्यस्तै, जसपा नेपालका सांसद सरोज सिंह कुशवाहा निलम्बित रहेका कारण विश्वासको मतमा सहभागी हुन नपाउने भएका छन्।
यी अवस्थाहरूलाई हेर्दा, यदि जनमतका दुई सांसदले मत दिएनन् भने सोनलको पक्षमा मत संख्या ५४ मा झर्न सक्ने सम्भावना छ — जुन सरकारको अस्तित्वका लागि आवश्यक न्यूनतम सीमा हो।
मधेस प्रदेशमा पछिल्ला दुई वर्षयता बारम्बार सत्ता परिवर्तन हुँदै आएको छ। यसअघि जनमत पार्टीका सतीश कुमार सिंह मुख्यमन्त्री थिए, उनीअघि लोसपाका सरोज यादव र त्यसअघि जसपाका लालबाबु राउतले सरकारको नेतृत्व गरेका थिए।
राजनीतिक विश्लेषकहरूका अनुसार सोनलको सरकार स्थिर रहन गठबन्धन दलबीचको विश्वास र समन्वय निर्णायक हुनेछ।
मुख्यमन्त्री सोनल विश्वासको मत पाउनेमा आत्मविश्वासी छन्।उनले भने,“विश्वासको मतका लागि कुनै समस्या हुँदैन। सबै दलहरूबीच सहमति कायम छ, प्रदेशको विकासका एजेन्डामा हामी एकजुट छौं।”
सोनलले विश्वासको मत प्राप्त गरेपछि गठबन्धन सरकारको नीति तथा कार्यक्रम र वजेट कार्यान्वयनमा ध्यान केन्द्रित गर्ने तयारी गरेको बताइएको छ।



