काठमाडौं,०७ कात्तिक । पछिल्लो समय नगदरहित कारोबारको दायरा तीव्र गतिमा विस्तार भइरहेको छ । दैनिक उपभोग्य वस्तु किनमेलदेखि लाखौँ रुपैयाँसम्मका आर्थिक लेनदेन अहिले डिजिटल माध्यममार्फत हुने क्रम बढेको छ । अधिकांश नेपालीहरू खल्तीमा नगद होइन, स्मार्टफोन बोक्दै डिजिटल भुक्तानी गर्न अभ्यस्त बन्दै गएका छन् ।
नेपाल राष्ट्र बैंकको पछिल्लो एक वर्षको तथ्यांक हेर्ने हो भने पनि डिजिटल कारोबार गर्ने लाखौँ प्रयोगकर्ता थपिँदै गएको देखिन्छ । चालू आवको भदौसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या दुई करोड ८२ लाख नाघेको छ । यस अवधिसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या २ करोड ८२ लाख ४० हजार १०६ जना पुगेका हुन् ।
जबकि यस्तो सङ्ख्या २०८१ भदौसम्म २ करोड ५२ लाख ७ हजार १२२ थियो ।वालेट प्रयोगकर्ताहरूको सङ्ख्या पनि उल्लेख्य बढेको छ । नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या एक वर्षमै ४ लाख भन्दा बढी थपिएको छ । २०८१ को भदौदेखि २०८१ को भदौसम्म आइपुग्दा ४ लाख २० हजार जना नयाँ वालेट प्रयोगकर्ता थपिएका हुन् ।
२०८१ को भदौसम्म नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या दुई करोड ४२ लाख ६४ हजार थियो । उक्त सङ्ख्या २०८२ को भदौसम्म आइपुग्दा दुई करोड ४६ लाख ८४ हजार पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
चालू आवको भदौसम्म आइपुग्दा डेबिट कार्ड प्रयोगकर्ताको सङ्ख्या एक करोड ३७ लाख लाख ६३ हजार पुगेको छ भने क्रेडिट कार्ड प्रयोगकर्ताको सङ्ख्या ३ लाख २१ हजार पुगेको छ । यसका साथै प्रिपेड कार्ड प्रयोगकर्ताको सङ्ख्या २ लाख ५७ हजार पुगेको छ ।
त्यस्तै, इन्टरनेट बैंकिङ प्रयोगकर्ताको सङ्ख्या २२ लाख ७८ हजार पुगेको छ । ४ लाख ३९ हजार पीएसपी एजेन्टहरू रहेका छन् ।
कनेक्ट आईपीएस प्रयोगकर्ताहरूको सङ्ख्या पनि उल्लेख्य वृद्धि भएको छ । २०८१ को भदौ मसान्तसम्म १३ लाख १५ हजार जना कनेक्ट आईपीएस प्रयोगकर्ता रहेकोमा उक्त सङ्ख्या २०८२ को भदौसम्म आइपुग्दा १४ लाख ७२ हजार पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।



